कर्णाली प्रदेशः निजामती सेवासम्बन्धी विधेयक संसद्‍मा पेस

सुर्खेत- कर्णाली प्रदेशको निजामती सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसद्‍मा पेस भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बिहिबार बसेको प्रदेशसभा बैठकमा विधेयक पेस गर्नुभएको हो ।

प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताउनुभयो । ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ । सरकारको तर्फबाट संसद्मा आफ्ना धारणा राख्दै उहाँले समाज रुपान्तरणका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रदेशमा विपद्का घटना भइरहेको भन्दै उहाँले सम्भावित घटना हुन नदिन विपद्मा विभिन्न कदम चालिएको बताउनुभयो । विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय गरेका छौँ ।

उहाँले भन्नुभयो, “हाम्रो क्षमता र जनशक्तिलाई जतिसक्यो परिचालन गरी विपद्बाट हुनसक्ने घटना न्यूनीकरण गर्न सरकार प्रतिबद्ध छ । हामीले स्थानीय सरकारसँग समेत सहकार्य गरेर अगाडि बढ्ने भनेका छौँ ।”

मुख्यमन्त्री शर्माले सुर्खेत विमानस्थल वरपरको डुबान हुन नदिन तत्काल पहल लिइँदै आएको बताउँदै विमानस्थल धावनमार्ग विस्तार गर्नसमेत पहल भइरहेको बताउनुभयो । “सुर्खेत विमानस्थल वरपर डुबान भइरहेको हामीलाई जानकारी छ । त्यसको समाधानका लागि हामी तत्काल पहल गर्छौँ ।

विमानस्थलको स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग पनि पहल भइरहेको छ”, उहाँले भन्नुभयो । यसअघि स्थानीयको विरोधका कारण विमानस्थल विस्तारको निर्णयबाट सरकार पछि हटेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.