शुक्रवार र शनिवार बर्षासहति हिमपात हुने, सतर्क रहन आग्रह

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को कारण अहिले देशको विभिन्न क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको जोखिम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले चक्रवातको कारण हुन सक्ने मौसमी प्रभावप्रति सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार र शनिबार वर्षाको सम्भावना अझ बढ्ने देखिएको छ ।

यस अवधिमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने मौसम पुर्वानुमान महाशाखाको आकलन छ।

लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी बर्षा हुने अनुमान गरिएको छ ।

वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम समेत रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको समेत प्रभाव रहनेकोले कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित पानी पर्ने अनुमान छ ।

मौसम प्रतिकूल हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा पर्वतारोहण तथा पदयात्राका लागि जाने पर्यटकलाई यात्रा स्थगित गर्न र जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

यसैगरी, नारायणी, बागमती, कमला र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाइएको छ । वर्षाका कारण नदी तथा खोलामा जल सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन पनि आग्रह गरिएको छ ।

वर्षाको कारण मुख्य राजमार्गहरु प्रभावित हुनसक्ने भएकोले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।

चक्रवातको कारण बदलिएको मौसमको मार धान खेतीमा पर्न सक्ने भएकोले किसानलाई धानबाली सुरक्षित राख्ने उपायहरु अपनाउन आग्रह गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.