समुदायस्तरमा मौसमी रुघाखोकी फैलिंदै, अस्पतालहरुमा बिरामीको संख्या बढ्दो

काठमाडौं- समुदायस्तरमा मौसमी रुघाखोकी फैलिदै जाँदा अस्पताल आउने बिरामीहरुको संख्या निकै बढेको छ । एक सातादेखि इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो एक हप्तामा देशभरबाट संकलन भएका १४० वटा नमुना परीक्षण गर्दा ३५ जनामा इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

इन्फ्लुएन्जाको संक्रमण हुँदा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण देखिन्छन् । चिकित्सकहरुका अनुसार मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको संक्रमण हो ।

इन्फ्लुएन्जालाई बोलिचालीको भाषामा ‘फ्लु’ भनेर बुझिन्छ । सामान्यतः नेपालमा फागुन–चैत र साउन–भदौमा ‘फ्लु’ संक्रमण बढी देखिने गरेको छ । यो समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।

देशभरका अस्पतालहरुमा पछिल्लो समय दैनिक रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढ्दो छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको बताउनुभयो ।

इन्फ्लुएन्जा ए बी, सी र डी गरी चार प्रकारका हुन्छन् । नेपालमा भने इन्फ्लुएन्जाका विभिन्न प्रकारमध्ये ए र बी बढी देखिने गरेको डा. पुनले बताउनुभयो । इन्फ्लुएन्जा ए, बीको तुलनामा बढी संक्रामक र स्वास्थ्यमा जटिलता ल्याउने खालको हुने चिकित्सकहरुले बताएका छन् ।

मौसमी फ्लुले रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसलाई बढी असर गर्ने गर्छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, नियमित औषधि सेवन गर्ने मधुमेह, उच्च रक्तचाप वा मुटुका बिरामीलाई फ्लुले बढी असर गर्ने हुनाले सतर्क रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.