चिनियाँ नगर उपप्रमुख वाङ ह्वामिङद्वारा भक्तपुर दरवार क्षेत्रको अवलोकन  

भक्तपुर चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङले एतिहासिक दरवारस्वायर क्षेत्रको भ्रमण गर्नुभएको छ । साँस्कृतिक नगरी भक्तपुरको कला, सँस्कृति, नेपाली पहिचानका मठमन्दिर हेर्न पाउँदा निकै खुसी लागेको धारणा व्यक्त गर्नुभयो । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमानमा झन घनिष्ट बन्दै गएको वाङ ह्वामिङले बताउनु भयो ।

चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख ह्वामिङले न्यानो स्वागत र व्यवस्थित अवलोकनको निम्ति धन्यवाद दिदै दुई नगरबीच मैत्रीपूर्ण सहरको सम्बन्ध स्थापित गरी विभिन्न विषयमा सहकार्य अगाडि बढ्न सकिने धारणा राख्नुभयो । उच्च तहको चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण अत्यन्त स्वागतयोग्य भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

जनप्रतिनिधिले देश र जनताको निःस्वार्थ सेवा गर्नुपर्ने भएकाले आफुले नगरवासीको हितमा काम गरिरहेको धारणा राख्नु भयो । चिङ्काङ्शान चीनको च्याङ्सी प्रान्तको दक्षिण पश्चिम क्षेत्रको महत्वपूर्ण नगर भएको बताउँदै उहाँले पर्यटन र संस्कृतिमा भक्तपुर र चिङ्काङ्शानबीच धेरै विषयमा समानता रहेको जिकिर गर्नुभयो ।

टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दरबार क्षेत्र प्रवेशद्धारमा स्वागत गर्नुभएको थियो । सोही क्रममा उहाँहरुले भक्तपुरका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

उक्त टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप अस्पताल, ख्वप कलेज, ख्वप मावि र ख्वप कलेज अफ ल को स्थलगत अवलोकन गर्नुभएको थियो । भेटमा चिङ्काङ्शान नगरपालिकाका मुख्य प्रशासक लोङ ल्यानह्वाउ, माओपिङ नगर समितिका पार्टी सचिव लि स्याओफेङ, चिङ्काङ्शान नगर स्वास्थ्य कमिसनका निर्देशक, चिङ्काङ्शानका उपनिर्देशक ऊ जुआनजुआनलगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा नगर प्रमुख प्रजापतिले मयुर झ्याल र उपप्रमुख ह्वामिङबीच उपहार आदानप्रदान भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.