दाङको छिल्लीकोट पर्यटकको रोजाईमा

दाङ- गाउँभरि सयपत्रीको थुङ्गा जस्तै ढपक्कै फूलेको तोरी, छेउ नजिक भएर बग्ने गुहारखोला, चारैतर्फ हरिया पाखापहराले घेरेको छिल्लीकाट पुग्ने जो कसैको मन नछोला भन्न सकिन्न । यहाँबाट हेर्दा चाँदीले बेरे जस्तै हिउँले बेरेर राखेको पूर्वी धौलागिरी हेर्दा धेरैको मन लोभ्याउँछ ।
हातमा फूल र अक्षताको थाली लिएर बसेका तिर्थालु, ठाउँ-ठाउँमा नाचगान गर्न बसेका यूवा यूवती देखेर बुढापाका पनि रमाईरहेका हुन्छन् । छिल्लीकोटमा पुग्ने बालबच्चादेखि बुढापाका पनि त्यहाँको ढिडो, सिस्नो, गुन्द्रुकको अचार खाएर आनन्द लिने गर्दछन् ।
त्यतिमात्रै हैन घुम्न भन्दै छिल्लीकोट पुग्दा त्यहाँबाट देखिने दाङको समथल मैदानले धेरैको मन तान्ने गरेको छ । घुमघामका लागि गाउँ जानेलाई खाना खुवाउन होमस्टेले पनि गाउँलेलाई राम्रै आम्दानी दिएको छ ।
स्थानीयस्तरमा उत्पादन भएको सेतो मकैको ढिडो, लोकल कुखुरा, सिस्नो, सिन्कीको अचारसहित कोदो र टिमुरको अन्य परिकार आठसय रुपैयाँ तिरेर खान पाईन्छ । यो कामले गाउँलेले दुई पैसा राम्रोसँग कमाई गरेको कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले जानकारी दिनुभयो ।
गाउँलेको आम्दानी बढाउन गाउँमा होमस्टे सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा रहेको छिल्लीकोट दरवार, कालिका मालिका मन्दिर, भ्यू टावर तथा नयाँ मन्दिर बनाएर गाउँमा पर्यटकलाई आकर्षित गर्ने काम भईरहेको छ ।
छिल्लीकोटमा प्रदेश सरकारले पटक-पटक गरी करिब ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । उक्त बजेटबाट कालिका, मालिका मन्दिर, भ्यू टावर र त्यहाँ पुग्न परम्परागत ढुङ्गाको सिढी निर्माण गरिएको पुनको भनाई छ ।

लुम्बिनी प्रदेश सरकारले जिल्ला-जिल्लामा भएका कोट, दरवार, पुराना मठमन्दिर उत्खनन् गरी संरक्षणमा जुटेको छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय तीन तहका सरकारले मिलेर आ–आफ्नो दायित्वअनुसार पर्यटन बिकासका लागि काम गर्दै आएका छन् पुनले भन्नुभयो ।
जिल्लाको उच्च भागमा रहेको छिल्लीकोटबाट सिस्ने, पुथा, कन्चनजंघा जस्ता उच्च हिमश्रृंखला र दक्षिण भारतको देहरादुन लगाएत विभिन्न सहर देख्न सकिन्छ । यसले गर्दा देशका विभिन्न स्थानबाट पर्यटक दैनिक छिल्लीकोट पुग्ने क्रम बढेको पुनले जानकारी दिनुभयो ।
करिव तीन सय घरधुरी रहेको छिल्लीकोट गाउँका सर्वसाधारणले त्यहाँ पुग्ने पर्यटकलाई साग, सिस्नो, कोदोको रोटी, ढिंडो, लोकल कुखुरा, दुध, दहि, घ्यूलगाएत स्थानीय परिकार खुवाउने गर्दछन् । खाना मात्रै होईन गाउँमा उत्पादन हुने टिमुर, अदुवा, मालागेडी लगाएत विभिन्न जडीबुटी पोको पारी कोशेली स्वरुप दिने चलन छिल्लीकोटबासीको छ ।
गाउँमा यो कामको थालनी हुँदा धेरै बेरोजगार युवाले रोजगार प्राप्त गरेका छन् । रोजगारीको खोजीगर्दै भारत लगाएत खाडी मुलुकमा पस्ने धेरै यूवा गाउँघरमा बसी दुईचार पैसा कमाउने भएपछि उनीहरु खुशी पनि देखिन्छन् ।
हिउँदमा छिल्लीकोट पुग्न खासै समस्या नभएपनि बर्षातको समयमा बाढी पहिरोले बाटोघाटो बिग्रीने, ठाउँठाउँमा पहिरो जाने भएका कारण छिल्लीकोट पुग्ने सडक कालोपत्रे गरिदिन स्थानीयले सरकारसँग माग गर्दै आएका छन् ।






प्रतिक्रिया राख्नुहोस्