धादिङको गंगा-जमुना धार्मिक पर्यटन क्षेत्रमा विकास गर्न सरकारको पाँच करोड रुपैयाँ लगानी

धादिङ- उत्तरी धादिङको प्रसिद्ध धार्मिकस्थल गंगा-जमुनालाई धार्मिक पर्यटनको क्षेत्रमा विकास गर्न सरकारले यस वर्ष पाँच करोड रकम खर्चेको छ ।

भौगोलिक हिसाबले विकट स्थानमा रहेको गंगा-जमुना झरना अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै जान थालेपछि पर्यटन क्षेत्रको विकाससँगै त्यहाँका स्थानीयको आर्थिक अवस्था सुधार गर्न सकिने भन्दै सरकारले स्थानीय तहसँगको सहकार्यमा सो रकम खर्चेको हो ।

खर्चेको रकममध्ये स्थानीय तहले तीस प्रतिशत र बाँकी सत्तरी प्रतिशत केन्द्र सरकारले अनुदान स्वरुप प्रदान गरेको हो । उक्त रकमले गंगा-जमुना माईको मन्दिर क्षेत्रमा रहेका ठूला-ठूला ढुङ्गाहरू विभिन्न देवी देवताका मूर्तिहरू कुँदिनुका साथै त्यहाँका विभिन्न भौतिक पूर्वाधार विकासका लागि खर्चिएको छ ।

अहिले गंगा-जमुना जाने भक्तालुहरूको लागी बस्ने सत्तलका साथै गुम्बालगायत मन्दिरसम्म पूजाका लागी जाने सिडि निर्माण र बार बनाइएको छ । करिव एक हजार तीन सय वर्ष पुरानो इतिहास बोकेको सो मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन निकै ठुलो मेला लाग्ने गर्दछ ।

अहिले सो क्षेत्रमा रहेका ढुङ्गाहरुमा कुँदिएको विभिन्न देविदेवताका कलात्मक मूर्तिहरू भक्तालुहरूको आकर्षणको केन्द्र बनेको छ । गंगाजमुना गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी त्यहाँका स्थानीयको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यका साथ स्थानीय तह र केन्द्र सरकारले सो कामको सुरुवात गरेको हो ।

चार करोड पचहत्तर लाखको लागतमा निर्माण सुरु गरेको गरेको पर्यटन पूर्वाधार विकासको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

अहिले त्यहाँ ध्यान केन्द्र निर्माण, प्रवेशद्वारलगायत होमस्टेका लागी संरचना तयार गर्ने योजनाका साथ काम भइरहेको छ । योसँगै त्यहाँ बसोवास गर्ने स्थानीयलाई विभिन्न आयमुलक काम र रोजगारीका लागी तालीम समेत प्रदान गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण र आकर्षक भएपनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाइ छ । भौगोलिक हिसाबले विकट स्थानमा रहेको गंगाजमुना झरनामा अहिले भने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.