एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौ –  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआइभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

मन्त्री बस्नेतले सन् २०३० सम्म नेपालबाट एचआइभी उन्मूलन गर्ने लक्ष्य चुनौतीपूर्ण भएको उल्लेख गर्दै एचआइभी उन्मूलनका लागि समुदायसँग हातेमालो गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले एचआइभी सङ्क्रमण दर घटाउन नेपालले सफलता हासिल गरे पनि अन्त्य गर्न अझै चुनौती रहेको बताउनुभयो । उहाँले एचआईभी सङ्क्रमितप्रति गरिने व्यवहार परिवर्तनका लागि सबै पक्षसँग सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले एचआइभी पनि अन्य रोगजस्तै औषधि सेवनले निको हुने भन्दै सङ्क्रमितमाथि हुने भेदभावको अन्त्य गर्न जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिब ३० हजार एचआइभी सङ्क्रमित रहेको जानकारी दिँदै अबको चुनौती सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.