उहिलेको ‘तमासघाँस’ अहिलेको ‘तम्घास’ बजार

गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढ्दो आधुनिकतासँगै पुराना शैलीका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ । कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्तापातालगायत प्रयोग गरेर निर्माण गरिएका घरहरु तम्घास बजारमा हराउँदै जान थालेका छन् ।
सदरमुकाम तम्घास बजारको विकाससँगै अहिले पुराना शैलीका घरहरु हराउँदै जान थालेका छन् । त्यस्ता घरहरु तम्घास बजारमा अहिले केहि मात्रामा मात्रै देख्न सकिन्छ । अहिले बजार रहेका ती पुराना शैलीका घरहरु कुनै समयमा निकै राम्रा मध्येका घर हुन् ।

आधुनिकताको विकाससँगै अहिले सिमेन्ट, छड, इँटा प्रयोग गरेर घरहरु धमाधम निर्माण हुँदै गएका छन् । यसरी निर्माण हुँदा पुराना घरहरु अहिले हराउँदै गएका हुन् । पुराना घरहरु हराएसँगै तम्घास बजारले नयाँ स्वरुप लिएको छ ।

२००९ सालअघिसम्म तम्घास पुरै झाडी थियो । त्यसपछि एकदुई पसलबाट अहिलेको तम्घास बजार बनेको स्थानीय ७० वर्षकी देजकुमारी श्रेष्ठले बताउनुभयो । श्रेष्ठ पूर्ख्यौली घर नै तम्घास हो । उहाँलाई तम्घास बजार पहिले कस्तो थियो भन्ने बारेमा राम्रोसँग थाहा छ ।
मैले जान्दा झाँडि मात्रै थियो श्रेष्ठले भन्नुभयो, ‘एक दुइवटा घरहरु मात्रै थिए ।’ उ त्यहीँ हाम्रो घर अझै पनि पहिलेकै हो उहाँले भन्नुभयो, ‘छोटो समयमै यस्तो देखियो ।’ पहिले त ढुङ्गा माटो, काठले बनेका घर थिए, उहाँ भन्नुहुन्छ, ‘अहिले त धेरै परिर्वतन भयो ।’ अहिले त घर घरमा पानी, मोटरबाटो आयो, ‘बिगतका कुरा स्मरण गर्दा भावुक पनि बन्नुभयो ।’

तम्घास बजारमा बाक्ला घरहरुसँगै विकास भएको झण्डै ३५ वर्ष मात्रै उहाँको भनाइ छ । त्यो भन्दा पहिले तम्घास लगायत गुल्मीका विभिन्न ठाउँका मानिसहरु भरिया लिएर पाल्पा, बुटवल गएर सामान ल्याएरा खाने गरिन्थ्यो श्रेष्ठले भन्नुभयो, ‘उहिले धेरै जग्गा किनेको भए मालामाल भइने रहेछ ।’ ‘उतिबेला जग्गा निकै सस्तोमा मिल्थ्यो, अहिले त कति धेरै मूल्य पर्दो रहेछ ।’
अहिलेको रेसुङ्गा नगरपालिकाको वडानम्बर १, २, ७, ८, ९ वटा वडा मिलेर गुल्मी सदरमुकाम बनेको छ । यहाँको मौसम गर्मी सिजनमा पनि खासै गर्मी हुँदैन ।
एकातिर रेसुङ्गा र अर्कोतिर अर्जुनको काखमा रहेको तम्घास बजार गुल्मी जिल्लाका लागि महत्वपूर्ण ठाउँ पनि हो । रेसुङ्गा र अर्जुन धार्मिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र हुन् ।
यसैको काखमा पर्ने तम्घास बजार पनि सदरमुकाम भएकाले महत्वपूर्ण ठाउँ हो । जिल्लाको सदरमुकाम तम्घास पहिले लक्ष्मीपुर गाउँ पंचायत थियो । यसभित्र नयाँ बजार, खानीगाउँ, धागिथुम, भूजेलखर्क, छापटोला, उपल्लो तम्घास, उदिनढुंगा, बागबारे, बाख्रेछेडा लगायतका क्षेत्र भित्र तम्घास रहेको छ । यस ठाउँमा अहिले बाक्ला वस्तीहरु रहेका छन् ।

यसै ठाउँमा जिल्लाका मुख्य प्रशासन कार्यालयहरु रहेका छन् । जिल्ला सदरमुकाम भएकाले मानिसहरुको चहलपहल भइरहने गर्दछ । यहाँ एउटा क्याम्पस र सरकारी र निजी गरेर एक दर्जन जति माध्यमिक विद्यालयहरु रहेका छन् ।
तम्घास तत्कालीन (लक्ष्मीपुर क्षेत्र) गर्मी मौसममा शीतल र रमणीय पनि भएको हुनाले त्यताको लोक भाषामा सो ठाउँलाई तमासा, तमास भन्दा भन्दै तम्घास भएको भन्दछन् । भनिन्छ तम्घासमा पहिले एउटा पानीको तलाउ थियो । तलाउको नाउँ तमास थियो र सो ताल पछि पुरिएर लामो लामों घाँस पलाउँदा तमासघाँस हुँदा हुँदा तम्घास नाम रहन गयो । यो ठाउँ प्राचीनकालदेखि महत्त्वपूर्ण रहेको कुरा विभिन्न आधारबाट पुष्टि हुन्छ ।

डा. टीकाराम पन्थीले आफ्नो खण्डकाव्य “तम्घास“ नाम भएको हो भन्ने लेख्नुभएको छ । सदरमुकाम तम्घासमा २०४० सालतिर पहिलोपटक ट्क्याटर आएको थियो । त्यसपछि यहाँको विकासले झनै गति लियो । ०४३ साल तिर स्थानीय स्तरबाटै विद्युत निकालेपछि थप अर्को विकासक्रम अघि बढ्यो ।
सदरमुकाम यातायातको साधनसँग जोडिएपछि यहाँका घरहरुसँगै मानिसहरुको पनि जीवनशैली पनि फरक बन्दै गयो । तम्घासमा पहिले पाल्पा बुटवल पुगेर भरियामार्फत मालसामान ल्याएर बिक्री गर्ने र केहिले घर खर्चका लागि पनि ल्याउने गरिन्थ्यो । गुल्मी जिल्लाबाट घिउ, भटमास, फापर लगेर साटेर नुन, चामल ल्याउने गरेको तम्घास उदिनढुंगाका ६५ वर्षका रामलाल पन्थीले बताउनुभयो ।
तम्घासबाट बुटवलसम्म ८ देखि १० दिन लगाएर करिब एक वर्षलाई पुग्ने नुन, चामल ल्याउने गरेको थियौं, पन्थीले भन्नुभयो, ‘बुटवलबाट केहि समयपछि पाल्पा, रिडी, गौडाकोट हुँदै तम्घास बजारमै सामान किनमेल हुन थाल्यो ।’

तम्घास बजार बाँस, खरि लगायतका झाडी मात्रै भएको पन्थीले बताउनुभयो । बिस्तार हुँदाहुँदै विभिन्न ठाउँबाट आएर मानिसहरुले जग्गा किनबेच गरेपछि बजार बनेको उहाँको भनाइ छ ।
तम्घास बजार बिस्तार हुँदै गर्दा गुल्मी जिल्लासँगै अर्घाखाँचीबाट विभिन्न व्यक्ति आएर व्यपार व्यवसायसँगै घर जग्गाहरु किनबेच गरेकाले यहाँको थप चहलपहल बनेको यहाँका स्थानीयको भनाइ छ । पछि सवारी साधानहरु आउन थालेपछि बजार र पसलहरु थपिदै गए । त्यसपछि तम्घास बजार शहर बन्दै गयो ।
तम्घास बजार पछिल्लो द्वन्द्वकालमा गाउँगाउबाट मानिसहरु आएर बसेसँगै बजार र मानिसहरुको चहलपहल धेरै नै बढेको स्थानीय ७१ वर्षका खेतबहादुर भलामीले बताउनुभयो ।

भलामी पूर्ख्यौलीदेखि तम्घासमा बस्दै आउनुभएको छ । द्वन्द्वको त्यो समयमा जग्गाको मूल्य पनि धेरै नै बढेको उहाँले स्मरण गनुभयो । २०४३ साल भन्दा पहिले सुस्त गतिमा बजार र घरहरु बनेका थिए भलामीले भन्नुभयो, ‘द्वन्द्वकालमा त धेरै नै किनबेच भयो ।’
यहाँ क्याम्पस, स्कुलहरु खुलेसँगै मानिसहरुको चहलपहल बढेको भलामीले बताउनुभयो । जनसंख्या बढेसँगै विभिन्न सुबिधाहरु पनि थपिदै गएको उहाँले बताउनुभयो । भलामीको घर अहिले पनि ढुंगा, माटो, जस्ताले बनेको छ ।
अहिले पनि त्यो घर तम्घास बजारमै उत्कृष्ट रहेको छ । पहिले राजा बस्ने दरबार जस्तो भलामीको घर तम्घास बजारमै छ । यसरी शहरको विकाससँगै अहिले पुराना शैलीका घरहरु हराउँदै जान थालेका छन् ।
पुराना शैलीका घरहरु चिसो मौसममा तातो हुने पनि स्थानीयको तर्क छ । सिमेन्टबाट बनेका घरहरु भन्दा ढुङ्गा माटोले बनेका घरहरु चिसो मौसमका लागि राम्रो हुने पुराना पुस्ताको भनाइ छ ।



















प्रतिक्रिया राख्नुहोस्