विप्लवविरुद्ध जारी पक्राउ पूर्जीप्रति समाजवादी मोर्चाको ध्यानाकर्षण

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जीप्रति समाजवादी मोर्चा नेपालले गंभिर ध्यानाकर्षण भएको जनाएको छ।
मोर्चाका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै अदालतले जारी गरेको पक्राउ पूर्जीप्रति मोर्चाको ध्यानाकर्षण भएको बताउनु भएको हो ।
”केही दिन अघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव सी र प्रवक्ता कमरेड प्रकाण्ड सी लगायतका नेताहरु विरुद्ध काठमाडौ जिल्ला अदालतले जारी गरेको आदेश प्रति समाजवादी मोर्चा नेपालको ध्यान गंभिर आकर्षित भएको छ । मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
जिल्ला अदालत काठमाडौँले मंसिर १६ गतेको गोरखापत्रमा सूचना प्रकाशित गरेर विप्लव लगायतका नेताहरु विरुद्ध प्रकाउ पुर्जी जारी गरेको थियो ।
मोर्चामा सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),जनता समाजवादी पार्टी, विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी र नेकपा एकीकृत समाजवादी दलबीच आलोपालो नेतृत्व लिने सहमति अनुसार मोर्चाको संयोजकमा नेपाल रहनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्