झापाका बहुप्रतिभाशाली सबिनले उडाए ‘नमूना हवाईजहाज’

झापा- बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन् ।

बुद्धशान्ति–१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ । जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए ।

धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए । खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौँ दर्शक रोमाञ्चित बनेका थिए ।

छात्र बाँस्कोटाले तीनवटा जहाजको नमूना र अन्य वैज्ञानिक उपकरण निर्माण गरेका छन् । उनले बनाएका सामानले घरको कोठाहरु भरिएका छन् । अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गल्र्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जरलगायत छन् ।

गरिब परिवारमा जन्मेका छात्र बाँस्कोटाले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेको जनाइएको छ । “सानैदेखि विज्ञान सामग्री बनाउनेमा चाख थियो,” “सुरुसुरुमा आमाबुबाले गाली गरे पनि अहिले सहयोग गर्नुभएको छ । आर्थिक स्रोत हुने हो भने अझ धेरै ठूलाठूला उपकरण बनाउन सक्नेथिएँ ।”- उनको भनाइ छ । एउटा हवाईजहाज बनाउन रु ६५ हजार खर्च भएको सविनले जानकारी दिए ।

सबिनले बनाएको अर्को सामान बिजुली साइकल हो । चलिरहेको पाइडल साइकलमा उनले आफूद्वारा निर्मित ब्याट्री जोडेका छन् । उक्त ब्याट्री चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि साइकललाई दिनभरि कुदाउन सकिने उनको दाबी छ ।

बिजुली साइकल बनाउन रु २० हजार खर्च भएको छ । बिग्रेको चार्जर र एडप्टर जोडेर ‘गर्ल्स सेफ्टी’ नामको नयाँ डिभाइस उनले बनाएका छन् । जसले कुनै पनि युवतीलाई दुर्व्यवहारभएमा बिजुलीको करेन्ट प्रवाह गरिदिने उनको दाबी छ ।

‘भ्वाइस कमान्ड’बाट चल्ने रोबोट र बमबार्ड गर्ने ड्रोन बनाउन सक्ने उनको दाबी छ । एउटा रोबोट निर्माण अन्तिम चरणमा छ । कोठाभरि चिसो बाफ फ्याँक्ने इलेक्ट्रोनिक डिभाइस उनले बनाएर प्रदर्शन समेत गरेका छन् ।

‘पाइप एसी’ नाम दिइएको उक्त डिभाइस बिजुलीबाट चल्छ । मिहनेत र खर्चले यस्ता उपकरण बनाउने सबिनले भविष्यमा धेरै पढेर मेकानिकल इन्जिनियर बन्ने सपना साँचेका छन् ।

पाँचथरको हिलिहाङमा जन्मेका सबिनलाई उनका बुबा कृष्णले राम्रो शिक्षा दिने उद्देश्यले सात वर्षअघि पहाडबाट मधेसको झापा ल्याएर पढाउन थाल्नुभएको थियो । मधेसमा बाँस्कोटा परिवारको दुई कट्ठा घडेरीमात्र छ । उक्त जग्गामा टिनको छानो र बाँसको भाटाले बारेको एउटा घर छ । बुबाआमाले अर्कैको खेतबारी अधिया–ठेक्कामा लिएर परिवारको जीविका चलाउँदै आउनुभएको छ ।

आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पुर्‍याउन नसकेको वुबा कृष्ण बताउनुहुन्छ । घरमा वाइफाई नभएका कारण सबिन गाउँको वाइफाइमा गएर मोबाइल चलाउने गर्छन् । “यति धेरै विज्ञानका सामान बनाउने छोरोलाई सहयोग नगरौँ भन्ने त मनमा हुँदैन नि,” मनको बह पोख्दै उहाँले भन्नुभयो, “घरमा वाइफाई जोडिदिन सकेको छैन । एउटा राम्रो मोबाइल पनि किनिदिन सकेको छुइन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.