मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको स्तरोन्नति गरिँदै

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । विसं २०७३ मा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ‘ट्र्याक’ खोलिएको थियो । उक्त सडक स्तरोन्नतिका लागि गत वर्ष केन्द्र सरकारको रु एक करोड ३० लाख र गाउँपालिकाको रु एक करोड ३० लाख गरी रु दुई करोड ६० लाख विनियोजन गरी काम भएको हो ।

उक्त बजेटले स्तरोन्नतिको काम नसकिएपछि यस वर्ष केन्द्र सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेशले छुट्याएको रु ३० लाखले सडक स्तरोन्नति गर्न थालिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

पाँच वर्षअगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा तीन वर्षदेखि निरन्तर स्तरोन्नतिको काम गरिरहेको उहाँको भनाइ छ । गत वर्ष सडक फराकिलो बनाउने, ठाउँठाउँमा कल्भर्ट र नाली निर्माण गरिएको गौतमले बताउनुभयो ।

वैकल्पिक सडकका लागि गाउँपालिकाले अहिलेसम्म रु तीन करोड बढी रकम खर्च गरिसकेको उहाँको भनाइ छ । करिब २५ किलोमिटर सडकको ६० प्रतिशत मात्रै स्तरोन्नति भएको छ । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो । यो सडकले ढोरपाटन नगरपालिका–२ बाट निसीखोला गाउँपालिका–५ जोडेको छ ।

सडक साँघुरा र अप्ठ्यारा भएको हुँदा स्तरोन्नति गर्न थालेको गौतमले बताउनुभयो । यो सडक गाउँपालिकाको गौरवको आयोजनाअन्तर्गत रहेको उहाँ बताउनुहुन्छ । वैकल्पिक सडक २०७३ मा साबिक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले रु दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट आठ रु लाख गरी रु ६१ लाखमा सडकको ट्र्याक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका–२, ४ र ५ का हजारौँ नागरिकको दैनिकी फेरिदिएको छ ।

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले यस सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा अगाडि बढेको भन्दै केही दिनमै काम सुरु हुने बताउनुभयो । केन्द्र सरकारले रु ५० लाख विनियोजन गरेको हुँदा सो अनुसार ‘स्टिमेट’ गरेर ठेक्का लगाउन सूचना प्रकाशन गरिसकेको र त्यो प्रक्रिया अन्तिम चरणमा पुगेको हुँदा यही महिनादेखि निर्माण कम्पनी काममा लाग्ने उहाँ बताउनुहुन्छ ।

निसीखोला गाउँपालिका–२ का स्थानीय भीमबहादुर खत्रीले वर्षौंअगाडि खुलेको सडक हालसम्म पूर्णरुपमा स्तरोन्नति नहुँदा यात्रा र ढुवानी गर्न निकै समस्या हुने गरेको बताउनुभयो । दुई वर्षदेखि स्तरोन्नति हुन थाले पनि हालसम्म आधा मात्रै सडक फराकिलो बनेको उहाँको भनाइ छ । सडक साँघुरो र गाडी नै गुड्न नमिल्ने हुँदा यस सडकमा कुनै पनि यातायातका साधन नगुड्ने खत्री बताउनुहुन्छ ।

“यो सडक खुलेको धेरै वर्ष भयो तर अहिलेसम्म पूरै स्तरोन्नति हुनसकेको छैन, पारिपट्टिको लोकमार्ग कालोपत्र भइसकेर भत्किन थालेको छ, यो सडकको अवस्था निकै खराब छ,” उहाँले भन्नुभयो, “थोरै बजेट पर्दोरहेछ, हरेक वर्ष काम त गर्छन्, तर त्यसले पूर्णता पाउन सकेको छैन, सम्बन्धित निकायले ध्यान दिन जरुरी छ, करोडौँ खर्च गरेर सडक खुलाए तर अप्ठ्यारो हुँदा गाडी गुड्न सकेका छैनन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.