‘पौवादुङमा गोल्डकप’को उपाधि देउराली एफसी भोजपुरलाई
भोजपुर – भोजपुरको पौवादुङमामा जारी प्रथम ‘पौवादुङमा गोल्डकप’को उपाधि देउराली एफसीलले जितेको छ । मंगलबार भएको फाइनलमा आम्तेक–११ भोजपुरलाई ३–२ गोल अन्तरले हराउँदै देउराली एफसीले उपाधि जितेको हो ।
जितसँगै देउराली एफसीले नगद रु तीन लाख, ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक र रोमान्चक फाइनल खेलमा देउरालीका लागि बिजय भुजेलले दुई गोल गरे भने थप एक गोल सुवास तामाङले गरे । उता आम्तेक ११ का लागि दुवै गोल कप्तान निशान लिम्बूले गरे । देउरालीका बिजय भुजेल फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी देउरालीकै विवेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बू, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक–११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक–११ का निशान लिम्बूले प्राप्त गरे ।
युवाहरुलाई खेल प्रति प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुलाई देख्न पाउनु गौरवको विषय भएको गाउँपालिका अध्यक्ष किरण राई भनाइ छ । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुगेको भन्दै आगामी बर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइने उहाँले बताउनु भयो ।
मागि मेलाको अवसरपारेर आयोजना गरिएको प्रतियोगितामा सम्भु राई, रचना रिमाल लगायतका ख्याती प्राप्त कलाकारहरुले प्रस्तुति दिनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्