ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण सेवा दिदैं नागार्जुन नगरपालिका
काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर १ ले आफ्नो वडा रहेका ज्येष्ठ र अशक्त नागरिहरुका लागि घरमै स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्दै आएको छ ।
‘स्वास्थ्य नागरिक अभियान’ अन्तर्गत वडाले हरेक चार -चार महिनामा वडा भित्र रहेका वृद्ध – बृद्धा र अशक्त नागरिकहरूका लागि घर घरमा पुगेर स्वास्थ्य परिक्षण सेवा दिएको हो।
अभियान अन्तर्गत ज्येष्ठ नागरिक र अशक्तता भएकाहरूका लागि हरेक चार चार महिनामा घर घरमा गइ स्वास्थ्य परीक्षण गर्नुका साथै वडाका सबै नागरिकलाई हुने गरी हरेक महिनाको १५ गते वडामा स्वास्थ्य शिविर समेत सञ्चालन गरिदै आएको वडा अध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो ।
हरेक महिना आयोजना गरिने स्वस्थ शिविर र घर घरमा गरिने परीक्षणमा चिकित्सकको पूर्ण टिम परिचालित हुँदै आवश्यक औषधी समेत दिने गरिएको र सुगर, प्रेसरको निशुल्क परीक्षण लगायतका सेवाहरू प्रदान गरिएको लामाले बताउनु भयो ।
हरेक महिना हुने वडाको स्वास्थ्य शिविरमा २ सय भन्दा बढी सेवा लिने गरेका छन् । भने घर घरमा गरिने परीक्षणमा भने ५ सय बढीको स्वास्थ्य परिक्षण हुने गरेको छ।
स्वास्थ्य सरोकारका साथै वडाको सरसफाइ र पूर्वाधार निर्माणका कामलाई पनि वडाले प्राथामिकतामा राखेको । वडा भित्र भएका मठ मन्दिरहरूको संरक्षणदेखि नयाँ निर्माण लगायतका कामहरू जारि राखिएको वडा अध्यक्ष लामाले बताउनु भयो ।
यस्तै वडा भित्र पलहरूमा यत्र तत्र छरिएका तारहरुलाई हटाउने र भएकालाई व्यवस्थित बनाउने काम जारी राखेको छ । मुख्य सडकका साथै सहायक सडकमा फोहर सङ्कलनका लागि डष्टविनको ब्यवस्था गरिएको छ । घरपालुवा कुकुरलाई सडकमा शौच गराउन रोक लगाउनुका साथै साप्ताहिक रुपमा आफ्नो टोल सरसफाइ अभियान अघि बढाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्