वातावरण संरक्षणमा महिला सहभागी भएका तस्बिर उत्कृष्ट सूचीमा

काठमाडौँ- विश्व वन्यजन्तु कोष नेपालले महिलाको नेतृत्वमा वातावरण संरक्षण गरेका उत्कृष्ट सूचीमा परेका तीन तस्बिरलाई सम्मान गरेको छ ।

से फोक्सुण्डो गाउँपालिका–५ को बिजेर गाउँमा महिलाले स्थानीय मुखपोरम खोला सफा गर्दै गरेको, इलामको दोबाटोको जङ्गलमा हाब्रेको संरक्षणमा जुटेका महिला र बर्दियाको सामुदायिक वनमा थारु समुदायका महिला भोजभतेरका लागि मौनीको पातको दुनाटपरी प्रयोग गर्दै गरेको तस्बिर उत्कृष्ट सूचीमा परेका हुन् ।

कोषको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उत्कृष्ट सूचीमा परेका से फोक्सुण्डोको तस्बिर स्थानीय महिला मिङ्मार ल्हामो गुरुङ, इलामको फोटोग्राफर रसिक महर्जन र बर्दियाको विद्यार्थी प्रतिमा थारुले लिनुभएको जानकारी दिइयो ।

महिलाको नेतृत्वमा वातावरण संरक्षण गरेका तस्बिरको प्रतिस्पर्धाका लागि आह्वान गरिएको र उत्कृष्ट तस्बिरलाई अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रमाणपत्रले सम्मानित गरिएको कोषका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जानकारी दिनुभयो । प्रतिस्पर्धामा देशभरबाट फोटो पत्रकार र स्थानीयका गरी ५० भन्दा बढी तस्बिरबीच प्रतिस्पर्धा भएको र छनोट समितिले विभिन्न मापदण्डका आधारमा छनोट गरेको जनाएको छ ।

साथै राष्ट्रिय प्रतिनिधि डा गुरुङले महिलाको दर्दनाक अवस्था र चित्रण मात्र गरिने परिपाटीको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै महिलाको नेतृत्वमा भएका राम्रा र प्रेरणादायी कामको प्रचार गर्नसके वातावरण संरक्षणमा थप योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.