वाग्लेको ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ लोकार्पण

गोरखा- नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री चिरञ्जीवी वाग्लेको ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ लोकार्पण भएको छ ।
ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ गोरखा संग्रहालयमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
वाग्लेको यो तेस्रो कृति हो । उहाँले दोस्रो कृति ‘बलिदानले बनेको देश’ ले नेपाल एकिकरणको पहिलो अध्याय समेटेको छ भने ‘बहादुर शाह’ ले दोस्रो अध्याय समेटेको बताइएको छ ।
उपन्यासको समिक्षा गर्दै डा. नवराज कट्टेलले नेपाल एकिकरणमा राजा बहादुर शाहको योगदान र जीवनीका बारेमा उपन्यासले राम्रोसँग चित्रण गरिएको बताउनुभयो ।
उपन्यासमा चिनसँगको युद्ध, तिब्बतको भूगोल एवं अन्य ऐतिहासिक तथ्यहरुसमेत समेटिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै उपन्यासका लेखक वाग्लले राष्ट्र निर्माता बहादुर शाहलाई राष्ट्रिय बिभूति घोषणा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले आफूले लेखेको उपन्यासले नेपालको इतिहासलाई प्रतिनिधित्व गरेकोसमेत बताउनुभयो ।
यस पुस्तकले नेपालको राजनीतिक इतिहास अध्ययन गर्ने बलियो स्रोत साबित हुने वाग्लेको भनाइ थियो ।
कार्यक्रममा बोल्ने वत्ताहरुले वाग्लेको पुस्तकबाट नेपालको राजनीतिक इतिहासको ज्ञान लिन सकिने बताए ।
ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षता तथा सामाजिक व्यक्तित्व जेष्ठ नागरिक नारायणभक्त अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, डा. लोकप्रसाद भट्टराई, बिनोदकुमार भट्टराई, यदुप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्