मधानी महोत्सव मौलापुरमा लाखौं दर्शनार्थी सहभागी

रौतहट- रौतहटको मौलापुर नगरपालिकाको पुरातात्त्विक महत्व बोकेको महादेव मन्दिरमा लाखौंले दर्शन र पूजा गरेका छन् । नेपाल र भारतका लाखौं दर्शनार्थीले मधानी महायज्ञमा सहभागिता जनाएका थिए ।

पुरातात्त्विक महत्वको महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन तथा मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने संकल्पसहित ‘मधानी महोत्सव २०८०’ सम्पन्न भएको हो ।

हरेक वर्ष मधानी महोत्सव हुँदा भारतीय तथा नेपाली कलाकारका साथै नेताहरूको उपस्थितिले लाखौं दर्शक आउँदा मौलापुरको पुरातात्त्विक महादेव मन्दिरको पनि प्रचारप्रसार भइरहेको छ । कार्यक्रमको अध्यक्षता मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले गर्नुभएको थियो भने सहभागी सबैलाई उपप्रमुख गौरीशङ्कर साहले स्वागत गर्नुभएको थियो ।

मौलापुर नगरपालिकाकी मेयर साहले मौलापुर-५ पतौरामा अवस्थित हजारौँ वर्ष पुरानो पुरातात्त्विक महादेव मन्दिर एक विरासतपूर्ण सम्पदा भएको बताउनुभयो । मन्त्रोच्चारण बिना स्थानीय आदिवासी थारुको नेतृत्वमा रहेको कमरधुवा (बोलबम) समुहद्वारा गरिने मौलिक यज्ञ वैदिककाल पूर्वको मानिने साहको भनाइ छ ।

मधानी सांस्कृतिक समारोह फाल्गुन २५ गतेको महोत्सवमा बलिउडका चर्चित कलाकार गोविन्दाका साथै नेपाली कलाकारहरू पल शाहसहितका दर्जनौँ कलाकार सहभागी भएका थिए । साथै कार्यक्रममा नेपाल र भारतका लाखौं मानिसहरुको उपस्थिति थियो ।

मौलापुर नगरपालिकालाई विकासको पथमा अग्रसर गराइ पुरातात्त्विक महत्वको महादेव मन्दिरलाई प्रचारको एउटा उचाइमा पुर्‍याउने पूर्वमन्त्री प्रभु साहले लाखौं दर्शक उपस्थित भइदिएर मधानी महोत्सवलाई भव्य बनाइदिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.