आठसय वर्ष पुरानो भाजु पोखरी सर्वसाधारणका लागि खुल्ला

भक्तपुर- प्राचिन भाजु पोखरीको पुनःनिर्माण सम्पन्न भएको छ । एतिहासिक सम्पदा पुनःनिर्माणमा जुटेको भक्तपुर नगरपालिकाले आठ सय वर्ष पुरानो भाजु पोखरीको निर्माण सम्पन्न गरेर एक समारोहकाबीच उद्घाटन गर्दै सर्वसाधारणका लागि खुल्ला गरिएको जनाएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १ स्थित उक्त पोखरी मध्यभागमा रहेको जलेश्वर मन्दिरको शुक्रबार उद्घाटन गरिएको हो । जनश्रमदान र महिला कामदारबाट निर्मित उक्त पोखरी र जलेश्वर मन्दिर पुन निर्माणका लागि भक्तपुर नगरपालिकाको कुल रकम २ करोड ५१ लाख ७९ हजार ९०३ लागतमा सम्पन्न गरेको हो ।
तीन दशकअघि भाजुपोखरीको पानी सुकेर दुबो मौलाएको थियो । यसको पुरातात्विक महत्वलाई बुझेर भक्तपुर नगरपालिकाले पुनः निर्माणको कार्य अघि बढायो । क्रंक्रिट हालेर होइन, परम्परागत शैलीमा निर्माण सम्पन्न गरी उद्घाटन गरेको हो ।
सिद्धपोखरीबाट करिब १५ मिटर दक्षिणतर्फ रहेको यो पोखरी भागीराम प्रधानाङ्ग अर्थात् “भाजुकस’ ले आठसय बर्ष पहिले निर्माण गरेको संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँनु हुन्छ । राजा जितामित्र मल्लका प्रमुख विश्वासपात्र मध्ये एक थिए भाजुकस ।
आफ्नो कीर्ति राख्न यो पोखरी निर्माण गरेको उहाँको भनाइ छ । साना ठूला गरी ५० बढी पोखरीले भरिएको भक्तपुरमा यसको पुनःनिर्माणले थप पहिचान झल्काएको स्थानीयको भनाइ छ । ३० रोपनी क्षेत्रफलमा फैलिएको यो पोखरीलाई स्थानीयले आफ्नै बलबुत्तामा निर्माण सम्पन्न गरेका हुन् ।
जीर्णोद्धार सुरु हुनुअघि भुकम्प पीडितको आश्रयस्थलमा परिणत भएको थियो । करिब ९ महिना लगाएर नगरपालिकाले पहिलेकै स्वरुपमा ल्याएको हो । पोखरी उद्घाटन गर्नुहुँदै वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले भाजु पोखरी मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धी भएको बताउनु भयो ।
पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह अनुसार यो पोखरीे पुनःनिर्माण सम्पन्न भएको नगरप्रमुख सुनिल प्रजापति बताउँनु हुन्छ । पोखरी पानीका स्रोत भएकाले स्थानीयबासी नै संरक्षण जुट्नु पर्ने प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ बताउँनु हुन्छ ।
सम्पदा निर्माण मावन सभ्यतासँग जोडिएको विषय भएकाले भक्तपुरका पोखरीहरु जनसमुदाय र समाजको लागि आवश्यक पानी आपूर्ति र आगलागीजस्ता विपद्मा प्रयोग गर्न बनेको पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनुभयो ।
पुरातात्विक सम्पदाहरुले भरिएको जीवन्त संग्रहालयको परिचय बोकेको भक्तपुरमा यो पोखरी पुनःनिर्माणले अझ गौरव गर्ने अवसर मिलेको पुरातत्वको बुझाइ छ ।






प्रतिक्रिया राख्नुहोस्