उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष हुनिनबीच भेटवार्ता

बेइजिङ- जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रुपमा रहिआएको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो ।

नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताउनुभयो । चीनले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आगामी दिन चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गर्नुभयो । “अबको एक मात्रै एजेण्डा आर्थिक विकास हो, यसमा चिनियाँ सहयोग महत्वपूर्ण हुनसक्छ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सीमामा रहेका १४ वटा परम्परागत नाकालाई पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै उहाँले पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित हवाई उडान गर्न अनुरोध गर्नुभयो । नेपालले चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा (भिसा)मा सहजीकरण गरेको स्मरण गराउँदै उहाँले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सो अवसरमा स्थायी समिति सदस्य हुनिनले चीन र नेपाल हिमालय र नदीले जोडिएको मुलुक मात्र नभई एउटै परिवारका सदस्यका रुपमा रहेको बताउनुभयो । उहाँले दुवै देशका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुभयो ।

चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सिपिपिसिसीका अध्यक्ष हुनिनले नेपालले आफ्नो मुलुकको समृद्धिका लागि लिने निर्णयप्रति चीनको दृढ समर्थन रहनेछ बताउनुभयो । चीन र नेपाल दुवै आर्थिक समृद्धिको दिशामा सँगसँगै अघि बढ्नुपर्छ भन्दै उहाँले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रुपमा लैजान चिनियाँ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल सन् २०२६ मा अतिकम विकसिकत मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सहयोग गर्न चीन तयार रहेको बताउनुभयो । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री श्रेष्ठ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो ।

चिनियाँ प्रतिनिधिमण्डलमा स्थायी समिति सदस्य हुनिनसहित चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.