चितवनमा ३४ पत्रकार सम्मानित

चितवन- नेपाल पत्रकार महासङ्घ चितवनले २५ वर्षभन्दा लामो समयदेखि सक्रिय पत्रकारहरुलाई सम्मान गरेको छ । शनिवार यहाँ आयोजित अग्रज पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहमा ३४ जना अग्रज पत्रकारलाई सम्मान गरिएको शाखाले जनाएको छ । उहाँहरुलाई २५ ग्रामको चाँदीको मेडल, ताम्रापत्र, खादा र मालाले सम्मान गरिएको हो ।

त्यसअवसरमा शाखाले हरेक वर्ष प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार पनि प्रदान गरियो । बालकुमारी बिष्णुकुमारी पत्रकारीता पुरस्कार २०८० बाट पत्रकार केशु लामिछाने, मैयादेवी पत्रकारिता पुरस्कार २०८० बाट नेपाल पत्रकार महासङ्घकी सचिव सृजना अर्याल, श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कार २०८० बाट प्रतिमा कुमाल पुरस्कृत हुनुभयो ।

अनन्त गङ्गा पत्रकारिता पुरस्कारबाट चाँदनी हमाल, तिलचन साँखी पत्रकारिता पुरस्कार, २०७८, २०७९ र २०८० बाट क्रमश शालिग्राम नेपाल, बिमल खतिवडा र टीकादत्त तिमिल्सिना, औद्योगिक पत्रकारिता पुरस्कार २०७९ र २०८० क्रमश सन्तकुमार चौधरी र हीरालाल गुरुङ्लाई प्रदान गरीएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उहाँहरुलाई सम्मान गर्नुभयो ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले समाजलाई निराशा बनाउने भाष्य स्थापित हुँदै गरेको भन्दै पत्रकारिताले त्यसलाई चिर्नुपर्ने धारणा राख्नुभयो । समाज परिवर्तनका लागि सत्य, तथ्य र खोजमुलक पत्रकारिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो “सत्य, तथ्यमा आधारित भइ खबरदारी गर्ने काम पत्रकारको हो । महानगर सधै तपाईंहरुकै साथमा छ”, उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको पक्षमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी बजिरहेको छ । यसलाई रोक्नु हाम्रो दायित्व हो ।” पत्रकारिता कमजोर हुँदा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि आक्रमण सुरु हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले अग्रजहरुलाई सम्मान गर्न पाउँदा गौरव लागेको बताउनुभयो । अग्रजले देखाएको असल बाटोमा अहिलेको पुस्ता लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.