म्याग्दीका वनपाखामा ढकमक्क लालीगुराँस, रमाउँदै पर्यटक (फोटोफिचर)

म्याग्दी – वसन्त ऋतुको आगमनसँगै फुल्न थाल्छन् गुराँस । अनि नवदुलहीको सिउँदो रङ्गिएझैं राताम्य देखिन्छन् पहाडहरु । फूलहरुको रस चुस्दै अघाउँछन् माहुरी । लाग्छ, गुराँस फुलेपछि धर्ती पनि तृप्त हुन्छ ।


गुराँस हरियो र खस्रा पात हुने तथा रातो, गुलाफी, सेतोलगायत अनेक रङको थुङ्गा फूल फुल्ने एक वृक्ष हो । फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ । नेपालको राष्ट्रिय फूल गुराँस अहिले म्याग्दीका वनपाखामा ढकमक्क फुलिरहेको छ । जिल्लाको विभिन्न स्थानमा गुराँस फूलेर वन क्षेत्र राताम्य बनेको छ ।


एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा खासगरी उच्च पहाडी क्षेत्र र लेकाली क्षेत्रको वन जङ्गलमा ढकमक्क गुराँस फूलेको हो । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी तथा पुनहिल क्षेत्रको वन जङ्गलमा राष्ट्रिय फुल लालीगुराँस फुलेर रौनक छाएको छ । जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–६, घारस्थित घोरेपानी क्षेत्रमा यतिबेला राताम्य गुराँस फुलेको स्थानीयले बताएका छन् ।


समुन्द्री सतहदेखि २ हजार ८ सय ७४ मिटरको उचाइमा रहेको घोरेपानी तथा ३ हजार २ सय १० मिटरको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँसहरु फुलेका छन् । अन्नपूर्ण गाउँपालिकाभित्र पर्ने पर्यटकीय क्षेत्रहरु घोरेपानी, पुनहिल, महरेडाँडा, फुलबारी र खोप्रालेकलगायत क्षेत्रमा विभिन्न प्रजातिका गुराँसहरु फूलेका छन् । यहाँको वन क्षेत्रमा रातो, गुलाबी, सेतो, गाढा रातो, सिम्रिक र चिमाललगायत प्रजातिका गुराँसहरु फूलेको स्थानीय जुकबहादुर तिलिजाले जानकारी दिनुभयो ।


विश्वमा पाइने गुराँसमध्ये नेपालको वन जङ्गलमा विभिन्न ३१ प्रजातिका लालीगुराँसहरु पाइने पहिचान भए पनि म्याग्दीमा १० प्रकारका गुराँसहरु पाइन्छन् । त्यसमध्ये घोरेपानी–पुनहिल र फुलबारी क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका गुराँसहरु फूल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा अहिले कुल ३ सय १२ वटा सामुदायिक वनहरु रहेकोमा ती सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवाहरु पाइने कार्यालयको तथ्याङ्क छ ।


नेपालमा सबैभन्दा ठूलो लालीगुराँसको जङ्गल भनेर संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गमस्थलमा पर्ने तिनजुरे–मिल्के–जलजले (टिएमजे) संरक्षित क्षेत्रलाई मानिएको छ । गण्डकी प्रदेशमा गुराँसको राजधानी भनेर म्याग्दीको घोरेपानी–पुनहिल र राम्चे क्षेत्रलाई चिनिन्छ । अन्नपूर्ण गाउँपालिकाको घोरेपानी, पुनहिल र राम्चेमा गुराँसले ठूलो क्षेत्र ओगटेको छ । वनपाखामा ढकमक्क लालीगुराँस फुलपछि ग्रामीण क्षेत्रको सौन्दर्यता पनि बढेको छ ।


यतिबेला वनपाखामा ढकमक्क फुलेको गुराँसको रौनकताले पर्यटकहरु आकर्षित भएका छन् । सहर, बजार पसेकाहरु गाउँ फर्किएर लालिगुराँस फूलेको हेर्न डाँडाकाँडा चहार्न थालिसकेका छन् । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फुल्ने लालीगुराँससँगै फोटो र भिडियो खिच्न पर्यटकहरु गुराँसको बोटमै पुग्ने गर्छन् ।

वनपाखामा फुलेको लालीगुराँसलाई पृष्ठभूमीमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन पाइने भएपछि पर्यटकहरुको आकर्षण बढेको छ । घोरेपानी र पुनहिल क्षेत्रको भ्रमणसहित लालीगुरासँमा रमाउन पाउँदा आफूले आनन्द मिलेको आन्तरिक पर्यटक सञ्जीव बाँस्तोलाले अनुभव सुनाउनुभयो ।

म्याग्दीमा रहेका पर्यटकीय क्षेत्रहरुमध्ये राउण्ड अन्नपूर्णअन्तर्गत पर्ने घोरेपानी र पुनहिल क्षेत्रको भ्रमणमा हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । यसपटक पनि यस क्षेत्रमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकहरु धेरे आएको घोरेपानीका होटल व्यवसायीहरुको भनाइ छ । विगतको वर्षभन्दा यसवर्ष लालीगुराँस राम्रो फूलेको हुँदा आन्तरिक पर्यटकको भीड बढेको फिस्टेल गेष्ट हाउस घोरेपानीका सञ्चालक कृष्णा पुनले जानकारी दिनुभयो ।


घोरेपानी र पुनहिलको भ्रमणमा पर्यटकहरु कास्कीको नयाँपुल–घान्द्रुक, म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर तथा मुस्ताङबाट पनि म्याग्दी निस्किएर भूरुङ–तातोपानी हुँदै पोखरेबगर–घार भएर जाने गर्दछन् ।

बेलुका घोरेपानी पुगेर बास बसेका पर्यटकहरु बिहान सबेरै उठेर पुनहिल जान्छन् । म्याग्दी भित्रिने पर्यटकहरु अधिकांश घोरेपानी र पुनहिलको भ्रमणमा जाने गरेको तथ्याङ्क छ । पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, मानपाथीलगायत १६ वटाभन्दा बढी हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.