भक्तपुरमा एघार सय सिट क्षमताको अरनिको सभाभवनको निर्माण सुरु

भक्तपुर- भक्तपुरमा एघार सय सिट क्षमताको अरनिको सभाभवन निर्माण सुरु गरिएको छ । भक्तपुर नगरपालिका वडा नं. ६ देकोचामा एक अर्ब रुपयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त सभाभवनको आज एक समारोहकाबीच शिलान्यास गरिएको हो ।

नेमकिपाका अध्यक्ष नाराणमान बिजुक्छेँले भवनको शिलान्यास गर्नुहुँदै मानव सभ्यताको इतिहास र विकासक्रम अध्ययनका लागि भवन शिलान्यासमा राखिएका सामाग्री अध्यनका लागि महत्वपूर्ण तथ्य सावितहुने बताउँनुभयो ।

सुविधासम्पन्न अरनिको सभाभवनको निर्माणकार्यमा भक्तपुरबासी आँफै जुटेका छन् । अरनिको सभाभवन भक्तपुर नगरपालिकाको एक महत्वपूर्ण नगर योजना भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउँनुभयो ।

२०५८ सालमै तत्कालीन जनप्रतिनिधिहरुले अरनिको सभाभवन बनाउने उद्देश्यले देकोचामा जग्गा अधिग्रहण गरेको भन्दै जगनाथ क्षेत्र सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण र उत्खनन् गर्नुपर्ने भएकोले यही ठाउँमा बनाउनु परेको नगरपालिकाले जनाएको छ ।

अरनिको सभाभवन निर्माण नगरबासीहरुको निम्ति मात्र नभइ देशकै साहित्यिक र सांस्कृतिक गतिविधि गर्नका लागि समेत महत्वपूर्ण उपलब्धी सावित हुने विश्वास लिइएको छ ।

वास्तुकार ‘अरनिको’ कलाकार, आर्किटेक्ट र वैज्ञानिकका रुपमा विश्वसामु चिरपरिचित भएकाले उहाँकै नामबाट सभाहलको शिलान्यास हुनु भक्तपुरको गौरव भएको तर्क वक्ताहरुको छ ।

सभाभवन निर्माणको निम्ति बागमती प्रदेश सभासमक्ष पनि सहयोगको अपेक्षा गरिएको छ । गौरवको आयोजनाको रुपमा अरनिको सभाभवन निर्माण कार्य अगाडि बढाइएको हुँदा यसबाट नगरबासी लाभान्वित हुने विश्वास नगरपालिकाले लिएको छ ।

भक्तपुर नगरपालिका वडा नं. ६ देकोचामा निर्माण हुन लागेको अरनिको सभाभवनको वास्तुकला र संरचनाको डिजाइन भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले गरेको हो ।

सभाभवनको मुख्य अडिटोरियम (मुख्य हल) ११०० जनाको क्षमताको रहेको छ । सभाभवनमा बहुउद्देश्यीय हल १२८ जना, श्रव्य दृश्य ९६ जना, ४ वटा रिहर्सल कक्ष रहनेछ ।

सभाभवनको प्रदर्शनी कक्ष १०६२.९९ व.मि., बेसमेन्ट पार्किङ ४६ गाडी र २३१ मोटरसाइकल अट्ने क्षमताको रहेको छ भने खुल्ला थियटर ६०० जनाको क्षमताको रहेको छ । सभाभवनको प्लिन्थ एरिया ३२०१ व.मि रहेको छ भने फोहरासहितको बगैंचाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.