सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा अन्योलता

कैलाली- सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारमा अन्योलता देखिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले पदभार ग्रहण गरेको तेस्रो दिनसम्म सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको भागवण्डा र पावर शेयरिङका विषयमा ठोस सहमति नहुँदा सरकार विस्तार अन्योलता देखिएको हो ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहनु भएका सोडारी बिहिबार मुख्यमन्त्री नियुक्त भई शपथ ग्रहण गर्दै पदभार ग्रहण गर्नुभएको थियो । यस्तै सोही दिन नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभएका उहाँको शुक्रबार मात्रै पदभार ग्रहण भएको थियो । सुदूरपश्चिममा सत्ता गठबन्धनमा रहेका दुई ठूला घटक सरकारमा सहभागी भएका छैनन् ।

एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । एमाले प्रदेशसभा सदस्य धर्मराज पाठकले पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेपनि यस विषयमा थप छलफल भइरहेको जानकारी दिनुभयो ।

सरकारलाई समर्थन गरेपनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको उहाँले बताउनुभयो । यस विषयमा सत्ता गठबन्धनका घटकहरूबीच पनि छलफल भइरहेको र शीर्ष नेताहरूबीच संवाद जारी रहेको बताउनुभयो । छलफलपछि सरकार विस्तार लगायतको विषयमा निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो ।

अहिलेसम्म नयाँ सरकारमा सहभागिता नजनाएको माओवादी केन्द्र पनि छलफलमा छ । माओवादीले प्रदेश अन्तर्गत उपलब्ध केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक बोलाएको छ । उक्त बैठकले सरकारका विषयमा ठोस धारणा तयार गर्ने माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याका कारण पनि सरकार विस्तारमा ढिलाइ भएको बताइन्छ । नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी र टीका थापालाई बिहीबार नै मन्त्रीको शपथ गराउने तयारी थियो ।

तत्काल दुबै जनालाई विना विभागीय मन्त्रालयको जिम्मेवारी दिएर पछि मन्त्रालय तोक्ने सहमति भएको थियो । तर, मन्त्रालय नतोकिँदासम्म शपथ नगर्ने बताएपछि कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइयो । टीका थापा भने शपथ ग्रहण स्थलबाटै बाहिरिनुभएको थियो ।

भोलिपल्ट उहाँले सरकारलाई आफ्नो समर्थन नरहेको भन्दै सामाजिक सञ्जालमै घोषणा गर्नुभयो । मुख्यमन्त्री सोडारीले शीर्ष नेताहरूबीच छलफल जारी रहेको भन्दै चाँडै सरकार विस्तार हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.