प्रदेशसभा उपनिर्वाचन: उम्मेदवारलाई घरदैलो गर्न भ्याइ-नभ्याई

चैनपुर- यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा दौडधुप गरिरहनुभएको छ । आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूची (एजेण्डा) सहित उम्मेदवारहरू ५० वडामा पुग्ने तयारी गरिरहनुभएको छ ।

तलकोट र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेका राजनीतिक दल शनिबार भने छविसपाथीभेरा गाउँपालिकामा पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमन भण्डारीको टोलीले तलकोट र साइपालमा घरदैलो अभियान गरेर फर्किएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलले पनि सोही पालिकाहरूमा भोट मागे ।

पालिकाबाट टाढाको पालिका भएको हुँदा प्रचार अभियान सुरुमै गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले बताउनुभयो । उहाँका अनुसार पालिकामा अभियानमा जाँदा संयोगवश अन्य दल पनि सोही पालिकामा प्रचार गरिरहेका देखिए ।

“यद्यपि पालिकाभित्र भने सँगसँगै नभएर विभिन्न वडा–वडामा घरदैलो अभियानमा गयौँ,” उहाँले भन्नुभयो । ११ राजनीतिक दलबाट उम्मेदवारी दिनुभएका उम्मेदवारले आफूलाई निर्वाचित गराउन विभिन्न ‘एजेन्डा’हरू सार्वजनिक गरिरहेका छन् ।

सबै उम्मेदवारको साझा एजेन्डा भने ताक्लाकोट सडक र बिजुली नै छ । ठूला दलले आफ्नो पार्टी सरकारमा हुँदा सडकमा बजेट हालेको जनाउँदै भोट मागिरहनुभएको छभने साना दलहरूले ठूला दलले काम गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढाले ताक्लाकोट सडक आफ्नो पार्टी सरकारमा गएको बेलामा सडकमा बजेट हालेको र सम्पन्न पनि आफ्नै सरकार भएपछि हुने जनाउँदै भोट मागिरहनुभएको छ । यसलाई खण्डन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापासहितका साना दलले भने ठूला दलले आफूले सरकारमा हुँदा आएको बजेट कार्यकर्तालाई पाल्न मात्रै भएको आरोप लगाउँदै भोट मागिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.