नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ

काठमाडौँ, १० वैशाख :  कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरुआत  गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ ।
विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिसम्म पहुँच बढाउने र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले सो परियोजना सुरु गरेको हो । सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विपद्का बेलामा आकस्मिक सेवालाई मात्रै प्राथमिकता दिइने र नसर्ने रोगहरूलाई महत्व नदिइने गरेको सन्दर्भमा जाजरकोट भूकम्पमा भने यी दुवै विषयलाई सँगसँगै लगिएको बताउनुभयो । मन्त्रालयअन्तर्गतको स्वास्थ्य समन्वय महाशाखाका डा समिर अधिकारीले मानसिक स्वास्थ्य र नसर्ने रोगहरू नेपालका लागि समस्याका रूपमा रहेको छ भन्नुभयो ।
डेनिस रेडक्रसका ‘कन्ट्री क्लस्टर’ प्रतिनिधि डेभिड फोगडेन र डेनिस रेडक्रस कन्सुलेट कार्यालयका हरि धरेलले परियोजनाको सफल कार्यान्वयका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा मेघनाथ धिमाल र विश्वस्वास्थ्य संगठनका प्रतिनिधि डा ग्याम्पो दोर्जीले नेपालमा नसर्ने रोगहरूको अवस्था र जोखिमका तत्वहरूका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका डा रइस पोखरेलले नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठ, कञ्चनपुर जनस्वास्थ्य कार्यालयका सिद्धराज भट्ट, काठमाडौं विश्वविद्यालयका बन्दना पनेरु, नेपाल डेभलपमेन्ट सोसाइटीका कार्यकारी निर्देशक स्वेता कोइरालालगायतले नसर्ने रोगहरूको अवस्था र चुनौतीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रसका अध्यक्ष प्रा सुदर्शन नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले नसर्ने रोगहरूसम्बन्धी यस नवीनतम् परियोजनाको शुभारम्भ आफैँमा महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.