गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेटः कर्णालीद्वारा गण्डकी पराजित 

काठमाडौँ– वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको एक सय ६९ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६३ रनमा समेटियो । गण्डकीका लागि अर्जुन कुमालले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे ।
यसैगरी, रोशन गौतमले २३, सन्दीप क्षेत्रीले अविजित १९, कप्तान विपिन खत्रीले अविजित १७, दीपक डुम्रेले १४ तथा ईश्वर क्षेत्रीले १२ रन बनाए । कर्णालीका लागि कप्तान दिवान पुन, प्रकाश जैसी र युनिस ठकुरीले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६८ रन बनाएको थियो ।
कर्णालीका लागि विपिन रावलले ४३ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । त्यसैगरी, रवीन्द्र शाहीले ३३, दिनेश अधिकारीले अविजित २९ तथा अर्जुन घर्तीले २८ रन बनाए ।
गण्डकीका लागि अमृत गुरुङले चार विकेट लिए । यस जितसँगै कर्णालीले प्रतियोगितामा तेस्रोे जित दर्ता गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.