विसं २०७२ सालको महाभुकम्पको सम्झना

काठमाडौं- नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ ।

०७२ वैशाख १२ गते बिहान ११:५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भुकम्प गएको थियो । सामान्य दैनिकीमा व्यस्त मुलुक अकस्मात बैशाख १२ गतको भुकम्पले ध्वस्त बनाएको थियो ।

त्यसबखत नेपाली जनताले कहिल्यै नभोगेको, नसोचेको क्षति भयो । धरहरा, बसन्तपुर ढल्यो । गाँउ, टोलदेखि अस्पतालसम्म चिच्याहट फैलियो । महाभुकम्पबाट करिब ८ हजार ८ सय जनाले ज्यान गुमाउँदा २२ हजार भन्दा बढि घाइते भए ।

झण्डै पाँच लाख घरहरु क्षति भए । हजारौंको संख्यामा विस्थापित बने । ८ हजार बढि विद्यालयका भवनहरु भत्किए, करिब ८ सय ऐतिहासिक सम्पदा, हजारौंको संख्यामा अस्पताल र लाखौँ निजी तथा सरकारी घर-भवनहरु भत्किदाँ करिव ६६९ अर्ब रुपैंया बराबरको क्षति नेपालले व्यहोर्नु पर्‍यो ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।

यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

वि.सं २०७२ साल वैशाख १२ गतेको भुकम्पले व्यापक जनधनको क्षति गरेपछि शुरु गरिएको पुनर्निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । सहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क अनुसार, लाभग्राहीको संख्या ८ लाख ६८ हजार १ सय ४० रहेको छ ।

गोरखा भूकम्पले दिएको पीडा कसैले बिर्सन सक्दैनन् । त्यसो त, नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११औँ स्थानमा पर्दछ । नेपालको भौगर्भिक अवस्था निकै कमजोर मानिन्छ । बेलाबेलामा स-साना भूकम्प गइरहनुले पनि नेपालको भौगर्भिक अवस्था कमजोर देखिन्छ ।

यसैबीच गोरखा भूकम्पको सम्झनामा आज बृहत् फोटो प्रदर्शनी हुने भएको छ । खानी तथा भूगर्भ विभागको आयोजना तथा संवाहिका समाज नेपालको सहआयोजनामा बुधबार विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभाग लैनचौरमा बृहत् फोटो प्रदर्शनी हुन लागेको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिलाई स्मरण गराउनका लागि विभागले बृहत् फोटो प्रदर्शनी आयोजना गरेको जानकारी दिनुभयो । उक्त प्रदर्शनीमा भूकम्पले पुर्‍याएको क्षति र आम जनताले भोग्नुपरेको समस्याबारे ५० चित्र प्रदर्शनी हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.