रेबिजविरुद्धको खोप निजीबाट किन्ने सरकारी अस्पतालमा लगाउने

मकवानपुर- हेटौंडा उपमहानगरपालिका-१० कर्राका नितेश लामा आफ्नो ६ वर्षीय छोरालाई रेविज बिरुद्धको खोप लगाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताल पुगे ।

रेबिजविरुद्धको खोप सकिएको भन्दै अस्पतालको सूचना पार्टीमा सूचना टाँसिएको देखेपछि उनले निजी स्वास्थ्य संस्थाबाट खोप खरिद गरेर ल्याए र अस्पतालमा खोप लगाए । विद्यालयबाट घर फर्कदा उनको छोरालाई कुकुरले टोकेको थियो ।

मकवानपुरगढी गाउँपालिकाकी नन्दमाया फुयाँलले पनि हेटौँडा अस्पतालबाट रेविजको खोप निशुल्क पाईनन् । नन्दमायाले पालेको खसीमा रेविज देखिएपछि उनको परिवारले नियमित खोप लगाईरहेको थियो । फुयाँलले घरमा पालेको खसी सुस्त हुने, अस्वभाविक लक्षण देखाउने गर्नथाल्यो । त्यस्तो लक्षण देखिएको केही दिनमै खसी मर्‍यो । नमूना परीक्षण गर्दा खसीमा रेबिज पुष्टि भयो ।

खसीलाई केहीदिन अघि घरमै पालेको तीन महिनाको कुकुरले टोकेको थियो । खसीलाई स्याहार गरेका घरका सबै सदस्यले पहिलो र दोस्रो डोज खोप निशुल्क लगाए । तेस्रो डोज बैशाख ११ गते लगाउनुपर्ने पुर्जामा लेखिए अनुसार खोप लगाउन आउँदा अस्पताललमा खोप अभाव भएको जानकारी पाए । फुयाँलको ८ जनाको परिवारले रेविज बिरुद्धको तेस्रो खोप पैसा तिरेर लाउन बाध्य भए ।

रेविजको खोप लगाउन अस्पताल पुग्ने बिरामीले निजी क्लिनीकबाट खोप किन्नुपर्ने बाध्यता झेलिरहेका छन् । अस्पतालबाट निशुल्क पाउनुपर्ने रेविज बिरुद्धको खोप बिरामीले ६ सय ५० रुपैयाँमा निजी क्लिनीकबाट खरिद गर्नुपर्ने बाध्यतामा छन् ।

अस्पतालमा खोप लगाउन पुगेका बिरामी खोप नपाएपछि मंगलबार केही बिरामी आक्रोसित बने । पहिलो र दोस्रो डोज खोप लगाएर तेस्रो डोज खोप लगाउन पुगेका विरामीलाई अस्पतालले खोप सकिएको जानकारी दिएपछि उनीहरु आक्रोशित बनेका हुन् ।

समयमा नै जानकारी नगराएको भन्दै विरामीले असन्तुष्टि पोखे । बिरामीको आक्रोशले केहीबेर हेटौंडा अस्पताल परिसर तनावग्रस्त बनेको थियो । चैत २७ गतेदेखि नै अस्पतालमा रेबिज बिरुद्धको खोप सकिएको मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले बताउनुभयो ।

अस्पताल प्रशासनले १ सय ७७ भाइल खोप अस्पताल आफैले उपलब्ध गराएर सेवा दिएपनि हाललाई भने त्यो पनि सम्भव नभएको उहाँको भनाई छ । हेटौँडा अस्पातलमा दैनिक ७० देखि ८० भाइल खोप आवश्यक छ । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप उपलब्ध नगराएपछि अस्पताल प्रशासनले सूचना टाँस गरेर खोप नपाईने जानकारी गराएको छ ।

निशुल्क पाउनुपर्ने खोप ब्यवस्थापनमा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र हेटौँडा अस्पताल प्रशासन गम्भीर नबन्दा बिरामीहरुले समस्या झेल्नुपरेको उनीहरुको गुनासो छ । यता, अस्पताल प्रशासनले भने खोप ब्यवस्थापनका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा पत्राचार गरिएको दाबी गरेको छ । बिरामी आफैले निजी स्वास्थ्य संस्थाबाट खरीद गरेको खोप भने अस्पतालले लगाइदिने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.