डोल्पामा जेठ १० देखि यार्सा पाटन खुलाइने

डोल्पा- हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गते देखि औपचारीक रुपमा यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पुर्ण यार्सागुम्बा पाटनहरुमा जेठ १० गते देखि पाटन खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले बताउनुभयो ।

बैठकबाट यार्सा खुला गर्ने मिति तोक्नुका साथै पाटनमा सुरक्षाकर्मी परिचालनदेखि स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय समेत भएको उहाँले बताउनुभयो । प्रत्येक बर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा पाटनहरुमा बिसौं हजार सर्वसाधारणहरु यार्सागुम्बाको खोजीका लागि पुग्ने गर्दछन् ।

यार्सागुम्बा टिप्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमति-पत्रको व्यवस्था निकुञ्जको नियमावलीमा गरिएको छ । जसअनुसार मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्ला भित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

सरोकारवालाको बैठकले १० जेठमा पाटन खुला गर्ने निर्णय गरेपनि निकुञ्ज र वन क्षेत्रका यार्सापाटनहरुमा लुकिछिपि अवैध रुपमा गएका मान्छेहरु भरिभराउ भएका छन् ।

प्रत्येक बर्ष यार्सा सिजनमा चिसो, लेक लागेर र भिरबाट लडेर ज्यान गुमाउने गरेका छन् । डोल्पामा यार्चाको व्यवसायिक रुपमा संकलन सुरु २०४० साल देखि भएको हो । २०७५ साल देखि यता १२ जना यार्सा संकलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

अघिल्लो बर्षमात्रै छोडपुर्जी र संकलन इजाजत बितरणबाट वितरणबाट निकुञ्जले दुई करोड तीन लाख राजश्व संकलन गरेको थियो ।

संकलकबाट बर्षेनी लाखौँ राजश्व उठाएपनि संकलकको स्वास्थ्य बिमा भने गरिंदैन । निकुञ्जले यार्चा टिप्नेबाट राजश्वमात्र लिने र जोखिमको ग्यारेन्टी नगर्नाले सर्वसाधारण मर्कामा परेको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.