इलाम र बझाङमा मतदान हुँदै, आजै रातीदेखि मतगणनाको तयारी

काठमाडौं- इलाम क्षेत्र नम्वर-२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

इलाम-२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन् । सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन् । इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १९ जनाले उम्मेदवारी दिएका छन् । १२ जना उम्मेदवार राजनीतिक दलबाट र सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा (एमाले) बाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बूले उम्मेदवारी दिनुभएको छ ।

नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सुहाङ नेम्वाङ सुवासचन्द्र नेम्वाङका छोरा हुनुहुन्छ ।

सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई उम्मेदवार हुनुहुन्छ । सात जना स्वतन्त्र उम्मेदवार छन् ।

बझाङ १(१) मा ७४ वटा मतदान स्थलमा ९३ मतदान केन्द्र छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सबै मतदान केन्द्रमा मतदानका लागि आवश्यक सबै सामग्री पुगेकाले बिहान ७ बजेबाटै मतदान सुरु हुने जानकारी दिनुभयो ।

सो क्षेत्रको चुनावमा सात वटा पालिका पूरै र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतदाता सहभागी हुने छन् । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका, मष्टा, तलकोट, साइपाल, सुर्मा, छविसपाथिभरा, खप्तडछान्ना गाउँपालिका रहेका छन् ।

सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् । मतदानलाई शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । उहाँका अनुसार मतदानपछि आजै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिकालगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट नेपाली कांग्रेसले अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र) ले जनक बुढा र नेकपा (एकीकृत समाजवादी) ले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

सो क्षेत्रमा कुल ११ जनाको उम्मेदवारी कायम भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सिंह निधन भएका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका जेठा छोरा हुन् । बझाङ १(१) मा स्वतन्त्र उम्मेदवार छैनन् ।

यसैबीच निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा आजै मतगणना गर्ने तयारी गरिएको जनाएको छ । सहायक प्रवक्ता पाण्डेयले इलाम–२ मा आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भोली अबेरसम्ममा मतपरिणाम आउने गरी गणना गर्ने पूर्वतयारी भएको छ ।”

बझाङ १(१) मा दुर्गम क्षेत्रमा समेत मतदान हुने भएकाले आजै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका सङ्कलन गर्न समस्या हुने सहायक प्रवक्ता पाण्डेयले बताउनुभयो ।

बझाङमा आजै मतपेटिका संकलन हुनसके आवश्यक प्रक्रिया पूरा गरी तत्कालै गणना कार्य सुरु गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.