उपनिर्वाचन : दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडाै- इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि मतदान भैरहेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसैबीच, आयोगले बिरामी बोकेको एम्बुलेन्स, खानेपानी र दूध बोक्ने गाडी, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मी र स्वास्थ्यकर्मी, दुरसञ्चार तथा केबल सेवा, शव वाहनलाई निर्वाध रूपमा सञ्चालनको अनुमति दिइएको छ ।

आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवा, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएका सवारी साधन, सुरक्षाकर्मी, आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदानमा खटिएका कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई पनि सञ्चालनको अनुमति दिइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.