इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै, बझाङमा मतपेटिका संकलन हुँदै

काठमाडौं- इलाम क्षेत्र नं २ मा हिजो सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आज सुरु हुँदैछ । अहिले केहीबेरमा सर्वदलीय बैठक बसी मतगणना सुरु गर्ने तयारी छ ।

सबै मतदान केन्द्रबाट मतपेटिका मध्यरातसम्ममा मतगणनास्थल ल्याइ पुर्‍याइएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुको सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत केशव घिमिरे जानकारी दिनुभएको छ ।

इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

यसैगरी बझाङ प्रदेशसभा १ मा हिजो भएको मतदानपछि मतपेटिका ओसार्ने काम भइरहेको छ । दुर्गम ठाउँको मतपेटिका ओसारेपछि मात्र अन्य प्रक्रिया सुरु हुने भएको छ ।

हिजोको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा करीब ५० प्रतिशत मतदान भएको छ । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिष्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.