गण्डकीका मुख्यमन्त्री अधिकारीले भोलि आइतबार विश्वासको मत लिने

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते आइतबार प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ । प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने जानकारी शुक्रबार बिहान गराएपछि सभामुख कृष्णप्रसाद धितालले वैशाख २३ गते दिउँसो ३ बजे सदनको बैठक आह्वान गर्नुभएको हो ।

प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले मुख्यमन्त्रीको कार्यालयबाट विश्वासको मतका लागि आएको सूचना शुक्रबार बिहान दर्ता भएपछि आइतबारका लागि बैठक आह्वान भएको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २५ गते अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । प्रदेश सभामा एमाले (२२), माओवादी केन्द्रका सभामुखसहित (८) र स्वतन्त्र (१) गरी ३१ सांसद छन् भने प्रतिपक्षमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ गरी २९ सदस्य छन् ।

राप्रपाले विपक्षमा मतदान गरेमा सत्ता पक्षमा ३० मत पर्ने छ । सर्वोच्चको पछिल्लो आदेश अनुसार सत्ता पक्षले ३० लाई नै बहुमत मान्न सक्ने गरी आदेश दिएको छ । तर, विपक्षी दल नेपाली कांग्रेस ३० लाई बहुमत मान्न तयार छैन । ३० लाई बहुमत मान्ने हो भने अहिले गण्डकीमा राप्रपा निर्णायक छ ।

राप्रपाको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अहिलेको सत्ता गठबन्धनलाई केन्द्रदेखि तलैसम्म साथ नदिने पुरानो निर्णयमा पार्टीले अडिग रहने निर्णय गरेको जनाउनु भएको छ ।

मुख्यमन्त्री अधिकारीले वैशाख २४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतको फैसला अस्पष्ट छ भने पूर्ण पाठ आउन समय लाग्ने देखिन्छ । यस्तो अवस्थामा निर्णायक शक्ति मानिएको राप्रपाले अधिकारी सरकारलाई विश्वासको मत दिन नसकिने जनाएपछि गण्डकीमा सत्ता संकट लम्बिने पक्का भएको छ ।

खगराज अधिकारीले भने सर्वोच्चको पछिल्लो व्याख्यालाई नै आधार मानेर विश्वासको मत लिने तयारी गरेको दाबी गर्नु भएको छ । निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सभामुखसहितको गणनामा अधिकारी मुख्यमन्त्री बनेपछि सर्वोच्च गुहार्नुभएको थियो । सर्वोच्चले पाण्डेको रिट खारेज गरिसकेको छ । यो विवादमा फेरि सर्वोच्चमा पुग्नसक्ने विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.