सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध: मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचनाको हक सार्वजनिक निकायले चाहेका बेला दिने ऐच्छिक विषय नभई नागरिकले मागेका बेला दिनै पर्ने दायित्व भएको बताउनुभयो ।

सार्वजनिक सरोकारका क्षेत्रमा नागरिकको सहज पहुँच स्थापित गरी लोकतन्त्र बलियो र दिगो शान्ति कायम गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँको भनाइ थियो ।

“संविधानको मौलिक हकको कार्यान्वयन गर्न सूचनाको हकको प्रचलनलाई बढाएर लैजानुपर्नेछ । यसमा सरकार दृढ र प्रतिबद्ध छ । हरेक सरकारी निकायमा जनताले मागेका सार्वजनिक सरोकारका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गरिएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सार्वजनिक सूचना सञ्चारमाध्यमबाट प्रवाह गर्न प्रवक्ताको व्यवस्था गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीयतहले समेत यो अभ्यास गरिरहेका छन् । नागरिकले सूचना माग्न र सरकारी निकायको कार्यसम्पादन प्रभावकारी बनाउनकै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत हेलो सरकार सञ्चालनमा पनि ल्याएको छ ।”

मन्त्री शर्माले सरकारी निकायले पारदर्शीता र सुशासनका लागि कतिपय सूचना स्वतः सार्वजनिक गर्नुपर्ने र कतिपय सूचना मागेपछि दिनुपर्ने भएकाले सरकारको मुख्य जोड सुशासन र सेवा प्रवाहलाई सरलीकरण गर्नेतिर केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँले सूचनाको हकको कार्यान्वयन गर्दा सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन सहयोगी हुने स्पष्ट पार्नुभयो ।

सरकारले सोझै प्राप्त गर्न नसक्ने जनताका गुनासा, बेथिति र अनियमिततालगायतका सूचना सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि त्यसलाई आधार मानेर अनुसन्धान र कारबाही प्रक्रियामा सरकारले तदारुकता देखाउँदै आएको उहाँको भनाइ थियो । सूचनाको हकको प्रवद्र्धनका लागि अग्रणी भूमिका निर्वाह गरिरहेका आम सञ्चारमाध्यमको भूमिकाप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो ।

सार्वजनिक सूचनाको अध्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले सङ्घीयताको मर्मअनुरूप सूचनाको हकलाई कार्यान्वयन गर्न कानुन पुनरावलोकन आवश्यक रहेको र प्रदेश तथा स्थानीय तहमा तद्अनुकूल कानुन नबनेको स्थितिमा सरकारले आवश्यक सहजीकरण गर्ने जानकारी दिनुभयो ।

सूचनाको हकको कार्यान्वयन प्रभावकारी बनाउन अन्तर मन्त्रालय प्रवक्ता र सूचना अधिकारीको सञ्जाल बनाइ सूचना प्रवाहलाई प्रभावकारी बनाउन आयोग तथा जनस्तरबाट प्राप्त सुझाव मनन गरी पहल गर्ने उहाँको भनाइ थियो ।

“सूचनादाताको सुरक्षाको सवालमा सरकार संवेदनशील छ । जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभएर सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउनु हो”, मन्त्री शर्माले भन्नुभयो, “जनताले चाहेको सूचना सहजरुपमा प्राप्त नगरेमा सम्बन्धित अधिकारी दण्डित हुने कानुनी व्यवस्था भएकाले आफूले चाहेका सार्वजनिक महत्वका सूचना ढुक्क भएर माग्न  म आम जनतासँग अपिल गर्न चाहन्छु ।”

आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्न गठित आयोगले अहिलेसम्म निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारकोतर्फबाट आभार व्यक्त गर्दै सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा आगामी दिनमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले सूचनाको हकको कानुनको प्रभावकारी कार्यान्वयनमा महासङ्घ सक्रिय रहेको बताउनुभयो । उहाँले नागरिकले राज्यलाई प्रश्न सोध्न सक्ने बनाउने र नागरिक स्तरबाट प्रभावकारी अभ्यास गर्नसके मात्र सूचनाको हकबाट लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

सूचनाको हकका अभियन्ता उमेद बाग चन्दले नागरिकलाई सशक्त बनाउन सूचनाको हक प्रभावकारी माध्यम भएको बताउनुभयो ।

संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ । संवैधानिक हकको प्रचलनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएअनुसार सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलनका लागि आयोगको स्थापना गरिएको हो । विसं २०६५ वैशाख २२ गते आयोगको स्थापना भएको हो । सूचनाको हकलाई संविधानले मौलिक हकका रुपमा स्थापित गरेको छ ।

हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने पुरस्कृत

कार्यक्रममा सूचनाको हकसम्बन्धी उत्कृष्ट काम गर्ने सूचना अधिकारी र अभियन्ताहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेमा ‘विनय कसजु उत्कृष्ट अभियन्ता’ पुरस्कारबाट सिराहा नगरपालिका(७ का पर्शुराम साह, पोखरा महानगरपालिका(१६ का यदुनाथ बञ्जरा, हेटौँडा उपमहानगरपालिका-८ का इन्दप्रसाद बन्जरा र मेलम्ची नगरपालिका(१० का आदित्य दाहाल छन् ।

यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पञ्चदेवल विनायक नगरपालिका अछामका ललितबहादुर बुढा, घ्याङलेख गाउँपालिका सिन्धुलीका किशोरकुमार वाइबा, गलकोट नगरपालिका बागलुङका तुलबहादुर विक, दङ्गीशरण गाउँपालिका दाङका टेकबहादुर खत्री र धनकुटा नगरपालिका धनकुटाका सूचना अधिकारी डम्बर रोगुलाई पुरस्कृत गरिएको छ ।

उत्कृष्ट कर्मचारी पुरस्कारबाट आयोगका शाखा अधिकृत हरिहर कार्की, नायब सुब्बा शान्ता न्यौपाने, लेखापाल लक्ष्मण अर्याल र कम्प्युटर अपरेटर गौरव गुरुङ पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.