गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुने

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाइएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव कार्यसूचीमा राख्ने सूचना प्रदेशसभामा शुक्रबार दर्ता भएको थियो । मुख्यमन्त्री अधिकारी संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा गत चैत २५ गते नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । एमालेका २२, माओवादी केन्द्रका सभामुख सहित ८ र १ स्वतन्त्र सांसदको समर्थनमा एमाले नेता अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

मुख्यमन्त्री नियुक्त गर्दा सभामुखलाई समेत गणना गरेको भन्दै काँग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीले गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई गणना नगर्दा पनि ३० जना सांसदको समर्थन रहने भन्दै रिट निवेदन खारेज गर्नुभएको थियो । गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन्।

सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार ३० जनाको पनि बहुमत पुग्ने भन्दै सत्तारुढ दलले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन्। विपक्षी कांग्रेसले भने विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन चाहिने बताउँदै आएका छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.