लामो इतिहास बोकेको गोरखापत्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्छः संचारमन्त्री

काठमाडौं- संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १ सय २४ वर्षको इतिहास बोकेको गोरखापत्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने बताउनु भएको छ ।

गोरखापत्र प्रकाशनको १ सय २४ वर्ष प्रवेश तथा गोरखापत्र संस्थाको ६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा संचारमन्त्री शर्माले सो कुरा बताउनु भएको हो ।

नेपालकै पहिलो समाचार पत्रिका गोरखापत्रले प्रकाशन गर्ने समाचार सामग्रीमा सुधार गर्नुका साथै कागजको गुणस्तरमा पनि सुधार गर्नुपर्ने बताउनु भयो । साथै गोरखापत्रले सरकार र जनताका बीचको पुलका रुपमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कठिन कालखण्ड पार गरी लामो यात्रा तय गरेको गोरखापत्रलाई केवल पत्रिकाको रुपमा मात्र नभई तत्कालिन समयको समाज र इतिहास अध्ययनको महत्वपूर्ण दस्तावेजको रुपमा लिन सकिने पनि संचारमन्त्री शर्माको भनाइ छ ।

जनशक्ति प्रविधि र व्यवस्थापनमा सुधार गर्दै गोरखापत्र र यसका प्रकाशनलाई अव्बल बनाउनु पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रवन्धकले गोरखापत्रको राज्यधर्म, नागरिक धर्म र बजारधर्म पालना गर्दै अघि बढेको बताउनु भयो ।

यसैगरी पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायतले पत्रकारितको जग बसाल्ने ऐतिहासिक पत्रिकाको गोरखापत्रको योगदानको चर्चा गर्नुभयो ।

वार्षिकोत्सवकै अवसरमा रामचन्द्र इन्दु गौतम पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार निर्मला शर्मालाई प्रदान गरियो । यसै गरी संस्थामा लामो समय योगदान गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक र उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित गरियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.