यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट थप उडान हुने

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडान हुने भएको छ । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान गर्दै आएकोमा यात्रुको चापलाई मध्यनजर गर्दै एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।
विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रुपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो ।
विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एअरलाइन्सको टुइनेटर जहाजले उडान गर्दै आएको छ । गुल्मीबाट एक वर्षको अवधीमा करिब ७० वटा उडानमा ८ सय बढी नागरिकले हवाई सेवा लिएको रेसुङ्गा विमानस्थलका स्टेशन बताउनुभयो ।
गुल्मीबाट हवाई सेवा लिनेहरुमा बृद्ध, बिरामी, सुत्केरी, लगायतका नागरिकले सेवा लिएका छन् । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।
गुल्मीको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थल रेसुङ्गा, रुरुक्षेत्र, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र मालिकाको मालिका पिस पार्कमा पर्यटक घुम्न जान थालेका हुन् । जिल्लामा हाल फ्रान्स, बेल्जियस र स्पेनबाट पर्यटकहरु घुम्नको लागि आइरहेका छन् ।
अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको छ ।
विमानस्थल पुग्न सदरमुकाम तम्घासबाट ५ किलोमिटर कच्ची सडक भएर पुग्न सकिन्छ । हाल गुल्मीबाट काठमाडौं सम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ ।
विभिन्न ठाउँमा सडक निर्माण भइरहेकाले गाडीको यात्रा गर्ने बिरामी अशक्त नागरिकलाई निकै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.