विश्वकै अग्लो स्थान छुमचौर जिउलोमा रोपाइँ महोत्सव सम्पन्न

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ स्थित छुमज्युलोमा रोपाइँ महोत्सव सम्पन्न भएको छ । जिल्ला कृषि विकास कायर्यालय जुम्लाको आयोजनामा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो ।

विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने परिचय पाएको छुमज्युलोमा मार्सीधानको संरक्षण, उत्पादन बृद्धि तथा खेतीमा किसानलाई हौस्याउन वर्षेनी महोत्सव हुँदै आएको छ । किसानको निस्कृयताले माग र महत्व बढेपनि पातारासी-३ छुमज्युलोमा मार्सीधान खेती घट्दै गएको छ ।

खेती गर्ने समय जेठमा अधिकांश महिला पुरुषहरु पाटनतिर जडिबुटि संकलन गर्न जाने र खेतीमा चासो नदिने समस्याले मार्सीधान सँगै अन्य रैथानेबालीको उत्पादन घट्दै गएको छ ।

कर्णालीका ४० पर्यटकीय गन्तव्यभित्र सूचीकृत भएको, विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने छुमज्युलोमा पछिल्लो समय मार्सीधान खेती घट्न थालेपछि खेतीमा किसानको आर्कषणसँगै उत्पादन बढाउन तथा खेती विस्तार गर्न रोपाई महोत्सव गरिँदै आएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छुमज्युलो विश्कै अग्लो स्थानमा धानखेती हुने क्षेत्रका रूपमा गिनिज बुकमा समेत रेडर्क कायम भएको छ । सदरमुकामबाट सबै सरोकारवाला छुममा पुगेर रोपाँई महोत्सव गर्नुको अर्थनै किसानलाई खेतीमा प्रेरित गर्ने,मार्सीधानको संरक्षण तथा प्रर्बद्धन गर्ने हो । अझै खेतीमा आर्कषण नहुँदा छुमज्युलो बाँझिदै गएको छ । तर मार्सीधान, स्याउ, सिमि, ओखर लगायतका रैथानेबालीको संरक्षण र उत्पादन बढाउने हाम्रो प्रयास जारी छ ।’

मार्सीधानको संरक्षणका लागि कृषि विकास कार्यालयले वर्षेनी महोत्सव गर्नुका साथै आवश्यक मल विउ, सिप, प्रविधि लगायतको सहयोग गर्दै आएको छ ।

समुद्री सतहदेखि २ हजार ८५० मिटर उचाइमा अवस्थित छुमचौर ज्युलो विश्वकै अग्लो स्थानमा धान फल्ने एकमात्र क्षेत्र हो । उक्त ज्युलो ३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.