भारतको सर्वोच्च अदालतद्वारा केजरीवाललाई जमानतमा रिहा

काठमाडौँ- भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उहाँलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ ।
राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा मेदीको सामना गर्नका लागि गठित विपक्षी गठबन्धनका नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा मार्चमा हिरासतमा लिइएको थियो ।
आपराधिक अनुसन्धानको दायरामा आउने समूहका धेरै नेतामध्ये उहाँ एक हुनुहुन्छ । उहाँका एक सहकर्मीले निर्वाचनभन्दा एक महिनाअघि उहाँको गिरफ्तारीलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) द्वारा रचित ‘राजनीतिक षड्यन्त्र’ का रूपमा वर्णन गर्नुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्ताले केजरीवाल छ साताको निर्वाचनमा मतदानको अन्तिम दिन जुन १ सम्म हिरासतबाट बाहिर रहन सक्नुहुने बताउनुभएको छ ।
सन् २०२१ मा मदिराको बिक्रीलाई उदार बनाउने र यस क्षेत्रमा आकर्षक सरकारी हिस्सेदारी छाड्ने नीति लागु गर्दा केजरीवालको सरकारमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो । उक्त नीतिलाई अर्को वर्ष फिर्ता लिइयो तर लाइसेन्सको कथित भ्रष्ट विनियोजनमा नतिजाको अनुसन्धानले केजरीवालका दुई शीर्ष सहयोगीहरूलाई कारागार पुर्यायो ।
बारम्बार गलत कामलाई अस्वीकार गर्दै आउनुभएका केजरीवालको समर्थनमा उहाँको गिरफ्तारीपछि भारतभरका अन्य धेरै ठूला सहरमा जुलुस निकालिएको थियो ।
करिब एक दशकसम्म मुख्यमन्त्री रहनुभएका ५५ वर्षीय केजरीवाल पहिलोपटक कट्टर भ्रष्टाचारविरोधी योद्धाका रूपमा कार्यालय आउनुभएको थियो । उहाँले अनुसन्धानको हिस्साका रूपमा सोधपुछका लागि भारतको वित्तीय अपराध एजेन्सी प्रवर्तन निर्देशनालयको बोलावट आदेशको विरोध गर्नुभएको थियो ।
मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको सङ्कुचित लोकतान्त्रिक स्थानप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।
विपक्षी कांग्रेस पार्टीका सबैभन्दा प्रमुख सदस्य तथा दशर्कौसम्म भारतीय राजनीतिमा वर्चश्व कायम गर्ने वंशका राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानिमा दोषी ठहराइएको थियो । उक्त फैसलालाई उच्च अदालतले निलम्बन नगरेसम्म उहाँको दुई वर्षको कारागार सजायले उहाँलाई केही समयका लागि संसद्बाट अयोग्य घोषित गरेको थियो ।
केजरीवाल र गान्धी दुवै दुई दर्जनभन्दा धेरै पार्टीबाट बनेको विपक्षी गठबन्धनको सदस्य हुनुहुन्छ र उक्त गठबन्धनले संयुक्तरूपमा भारतको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.