नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे छ सयबढी लाभान्वित

म्याग्दी – नेपाली सेनाको बृहत एकीकृत स्वास्थ्य शिविरबाट साढे छ सयजना स्थानीयवासी लाभान्वित बनेका छन् । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा हिजो (शनिवार) नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराको आयोजनामा सञ्चालित शिविरमा छ सय ६० जना लाभान्वित भएका हुन् ।

नेपाली सेनाको आयोजनामा श्री नं २३ बाहिनी अड्डाको नेतृत्वमा सैनिक अस्पताल पोखरा, शत्रुभञ्जन गुल्म म्याग्दी र श्री नं २३ फि.ए. गुल्मद्वारा मालिका गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको थियो । एकीकृत बृहत स्वास्थ्य शिविरमा बेनी अस्पताल म्याग्दी, स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भेटेरिनरी अस्पाल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, नेपाल रेडक्रस सोसाइटी, मालिका गाउँपालिका स्वास्थ्य शाखा र दरबाङ आधारभूत अस्पतालबाट खटिएको टोलीले स्वास्थ्य लगायतका सेवाहरु प्रदान गरेको थियो ।

दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने उद्देश्यले स्थानीयको माग र आवश्यकताको आधारमा आयोजित शिविरमा मेडिकलतर्फ महिला, पुरुष र बालबालिकासहित ४ सय ७ जना र आयुर्वेद स्वास्थ्यतर्फ १ सय ४३ जना लाभान्वित भएका छन् । यसैगरी शिविरको भेटेरिनरीतर्फ ८६ र कृषि सम्बन्धी २४ जना स्थानीय कृषकहरुले सेवा लिएका छन् । बृहत एकीकृत स्वास्थ्य शिविरमा स्थानीयवासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श सेवा र निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो ।

शिविरको अवसरमा जिल्लास्थित विभिन्न विषयगत कार्यालयहरुबाट स्थानीयवासीलाई लक्षित गरेर आयुर्वेद, भेटेरिनरी, कृषि सम्बन्धी सेवा तथा परामर्श, जैविक विषादी र नियन्त्रणका उपायलगायत बारेमा जानकारी गराइएको छ । एकदिने शिविरमा मेडिकलतर्फ जनरल ओपिडी, हार्डजोर्नी, मनोरोग, दन्तसेवा, आँखा परीक्षण, ल्याव, युएसजीलगायत सेवाहरु उपलब्ध गराइएको थियो । जनरल ओपिडीतर्फ ग्यास्ट्रिक, सुगर, प्रेसर, छाला तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीहरु भेटिएको हुँदा उपचार तथा परामर्श सेवा दिएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले बताउनुभयो ।

उक्त शिविरमा सैनिक अस्पताल पोखरा, धौलागिरि अञ्चल अस्पताल बागलुङ र बेनी अस्पताल म्याग्दीबाट गरी कुल २५ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचार एवं परामर्श सेवा प्रदान गरेका थिए । शिविरको उद्घाटन गर्दै पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको जनहित कार्य सञ्चालन निर्देशिका–२०७७ अन्तर्गत विभिन्न दुर्गम स्थानमा माग र आवश्यकताअनुसार विपन्न, सिमान्तकृत र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरेर शिविर आयोजना गर्ने गरिएको जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकावासीको स्वास्थ्यलाई लक्षित गरेर विभिन्न प्रयत्नहरु गरिएको बताउँदै यसवर्ष दलित, एकल महिला र विपन्न समुदायलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपाली सेनाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरले स्थानीयवासीको स्वास्थ्य अवस्था सुधारमा सहयोग पु¥याउने बताउनुभयो ।

कार्यक्रमको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग पु¥याउने जिल्लास्थित विभिन्न संघसंस्था र कार्यालयहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा श्री नं २३ बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले शिविरको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.