विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी

काठमाडौं- अमेरिका र वेष्टइण्डिजमा जारी आइसीसी टि-२० विश्वकप अन्तर्गत सुपर आठको दोस्रो खेलमा इङ्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका विजयी भएको छ ।

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्यान्ड सात रनले पराजित भएको हो । अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले केवल ३८ बलको सामना गरी चार छक्का र चार चौका प्रहार गरी ६५ रनको योगदान गरे ।

अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए । ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए । चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले अविजित ४३ रन थपे । उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।

इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए । मोइन अली र अदिल रसिदले एक–एक विकेट हात पारे । ‘सुपर–८’ चरणको ‘समूह–२’मा साविक विजेता इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

यसैगरी इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.