पुङ्गी खोला मिचेर बनेका संरचनाहरू हटाउँदै भरतपुर महानगर

चितवन: भरतपुर महानगरपालिकाले महानगरको पुङ्गी खोला मिचेर बनेका अवैध संरचनाहरू भत्काउन सुरु गरेको छ । बुधबार बिहान नारायणगढ लायन्सचोकको लायन्स भवनमा महानगरले डोजर लगाएर खोला अतिक्रमण गरि बनाइएका संरचना हटाउन सुरु गरिएको हो ।

भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट सुरु भएको पुङ्गीखोला वडा नम्बर ३ र ४ को सिमाना हुँदै नारायणी नदीमा गएर मिसिन्छ । महानगरपालिका नापी अधिकृत विकास देवकोटाका अनुसार साढे ६ किलोमिटर पुङ्गी खोलाको नक्सा अनुसार नाँपजाच पूरा भएको छ । खोला कही तीन चार मिटर र कहीँ १०/१२ मिटर चौडा रहेको उनले बताए । यो भित्र बनेका संरचनाहरू भत्काउन सुरु भएको हो ।

पुङ्गी खोला सौन्दर्यात्मक करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयले ६ करोड ६५ लाख रुपैयाँको पूर्वाधारहरू निर्माण गर्दैछ । त्यसका लागि मापदण्ड विपरीत बनेका संरचनाहरू भत्काउन लागेको महानगरले जनाएको छ ।

गत वर्षको चैत्र ७ मा पुङ्गी खोलाको डिजिटल नक्सा तयार गर्ने निर्णय भएको, प्राविधिक (अमिन) टोलीले तयार गरेको फिल्ड प्रतिवेदन र नक्साको आधारमा गएको भदौ २८ गते मापदण्ड विपरीतका संरचनाहरू भत्काउने निर्णय भएको बताइएको छ । यसअघि नै घर टहरा आफैं हटाउन महानगरले साउन १२ गते सार्वजनिक सूचना जारी गरिएको र त्यपछि मात्रै नहटेका संरचना हटाउन सुरु गरेको मेयर रेनु दाहालले जानकारी दिनुभयो ।

लायन्स भवनको आफ्नो जग्गा जम्मा तीन धुर मात्रै भए पनि १८८ दशमलब ९४ वर्ग फिटमा बनेको भवनको नक्सापास भएको नदेखिएको हुँदा त्यो भाग खाली गराउन लागेको महानगरले जनाएको छ । लायन्सचोकदेखि खोलाको माथिल्लो क्षेत्रमा कच्ची र पक्की गरेर ४०/५० वटा घरहरू खोला सिमानाभित्र पर्ने महानगरका नापी अधिकृत विकास देवकोटाले जानकारी दिनुभयो ।

यस्ता भवनहरू कोही घरधनीले नै भत्काएको र नभत्काएकाहरू हटाउँदै जाने महानगरले जनाएको छ । वडा कार्यालयसमेत खोला सीमाभित्र बनेको भेटिएको छ । लायन्स भवनको स्वामित्व रहेको नारायणगढ लायन्स क्लबका अध्यक्ष राजु पियाले भवन हटाउन २, ३ र ४ नम्बर वडाका लागि सार्वजनिक सूचना निकालेको बताए । यो भवन वडा नम्बर १ मा पर्ने उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.