सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने

भक्तपुर-  सूर्यविनायक नगरपालिकाले गत शनिबारको पहिरोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ ।

गत शनिबारको पहिरोमा परेर सूर्यविनायक–९ पलाँसे बस्ने नौ महिनाकी गर्भवती २४ वर्षीया दमिला शाही, बमकी चार वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाही र सोही वडाको पाटी भञ्ज्याङ नैचालका ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको ज्यान गएको थियो ।

अविरल वर्षापछि गत शनिबार गएको बाढी तथा पहिरोले पुर्‍याएको क्षतिबारे अध्ययन एवं निरीक्षण गर्न सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडा नं १ देखि १० सम्मका वडाध्यक्षहरू, पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने, प्राविधिक टोलीसहित इञ्जिनियरलगायत कर्मचारी टोलीले आज नगर क्षेत्रभित्रका बाढी, पहिरोका विपद्ग्रस्त क्षेत्रको अध्ययन अनुगमनपछि नगरपालिकामा आएर राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नगर प्रमुख थापाले भन्नुभयो, “पहिरोमा परेका मृतक परिवारलाई नगरपालिकाको तर्फबाट रु एक–एक लाख गरी पाँच लाख मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने आज निर्णय गरेका छौँ, घाइतेको भक्तपुर अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । आवश्यकताअनुसार सहयोग र राहत प्रदान गर्छौं ।”

प्रमुख थापाले तत्काल पहिरो रोकथामका लागि तारजाली, प्लाष्टिकलगायत सामग्री उपलब्ध गराउने र थप राहतका लागि सम्बन्धित निकायमा पहल गरिने बताउनुभयो । विद्युत् तथा टेलिफोन विच्छेद भएका ठाउँमा सञ्चालन गर्न लगाएको बताउँदै उहाँले सडक मर्मत एवं पहिरो पन्छाउने काम आइतबारदेखि नै सुरु भएको बताउनुभयो ।

नगरप्रमुख थापाले भन्नुभयो, “हामी अहोरात्र खटिएर भए पनि एक साताभित्र सबै सडकमा यातायात सञ्चालन गर्नेछौँ, त्यसका लागि सबै सडकमा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । एक साताभित्र भक्तपुर र काभ्रेपलाञ्चोकसँग जोडिएको सबै सडक सञ्चालन गर्न सबै वडाध्यक्षलाई निर्देशन दिएको छु, हामी सबै मिलेर छिटोभन्दा छिटो नगरलाई सहज अवस्थामा फर्काउछौँ ।”

तत्काल सडक खुलाउने, यातायात र आवतजावत सहज बनाउने, पहिरो पन्छाउने, घरमा पुगेको क्षतिको अवस्था र सहयोग पु¥याउने, पहिरो रोकथामका लागि आवश्यक सामग्री वितरण गर्ने काम सुरु गरिसकेको बताउँदै उहाँले दीर्घकालीन रुपमा तीन तहकै सरकारको बजेटले पुनःनिर्माण गर्ने बताउनुभयो ।

नगरपालिकाले निर्माण गरेको शिव शर्किट मात्रै होइन, यहाँका थुप्रै पर्यटकीयस्थल घ्याम्पेडाँडा, रानीकोट, अनन्तलिङ्गेश्वर भ्यूटावर, मानेभञ्याङ, आशापुरी, नैचाल जाने मुख्य नाका पहिरोले बन्द भएको छ । बाढी पहिरोले आवास, सडक, पुललगायत भौतिक संरचनामा पनि नोक्सानी पुर्‍याएको र पुनःनिर्माणका लागि करोडौँ बजेट खर्चिनुपर्ने अवस्था आएको नगर प्रमुख थापाले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख भट्टराईले सिङ्गो स्थानीय सरकार गाउँगाउँ पुगेर क्षतिको अवस्था जानकारी लिएको बताउँदै जनताले स्थानीय सरकारको अनुभूति गर्नेगरी नगरपालिकाले आफ्नो काम सुरु गरिसकेको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकाले सबै वडाबाट वडागत रुपमा नै क्षतिको विवरण सङ्कलन गरिसकेको बताउँदै सोहीअनुरुप अत्यावश्यक कामको थालनी गरिसकेको बताउनुभयो । उहाँले पहिरोले अवरुद्ध सडक स्काभेटर प्रयोगगरी खुलाउने काम भइरहेको, पुरिएका खानेपानीको मुहानको संरक्षण थालनी गरिने, बाढी र पहिरोका कारण कुनै पनि सङ्क्रमणजन्य रोगको महामारी फैलिन नदिन सर्तकता अपनाउने, त्यस्तो भएमा नगर अस्पतालमा उपचार गरिने प्रवक्ता सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.