कविता: समयको अन्तरालमा हजुरआमा

हजुरआमा,
आँखाको लेन्सले खिचेको तस्विरसँगै
झझल्को आउँछ मनमा
तिमी हुनु र नहुनुको अन्तर
हुनुको अनुभूति, सम्झनाको मिठास, बहकिएको मन
नहुनुको बेचैनी, उफ् छटपटी
कस्तो कस्तो !
त्यो अर्कै जमाना
अर्कै युग
तिमीले भोगेको जीवन
र
मैले बाँचेको समयबिचको अन्तराल कहाँ छ हजुरआमा?’
‘जीवन नभोगी कहाँ थाहा हुन्छ ?
भोग्नुपर्छ जीवन
भोग्दै भोग्दै भिज्नुपर्छ
भिज्न जान्नुपर्छ अनि पो त दुख र सुख केही बाँकी हुन्न
अन्तरालको सीमारेखा त्यसै तोडिन्छ नि नानी..!
न्यानो छहारी घामले अनि शितलपाटी जुनले दिन्छ
समय त बगिरहन्छ आफ्नै धुनमा कलकलाउँदै त्यस्तै गरेर निरन्तर बगिरहनु पो जिन्दगी
एकैछिन बाढीझैँ उर्लनु या टक्क अडिनु पनि के जिन्दगी नानी..!´
अहिले बर्तमानमा
क्षणभरका लागि तिम्रा आँखाबाट बिलाए पनि
इतिहासको गोरेटो कुँदेर
दन्त्यकथाको पात्रका रूपमा नै सही
म सारिरहने छु तिमीहरूकै लागि
निरन्तर निरन्तर सम्झनाका कुइनेटाहरू ।
हजुरआमा,
तिमीले कोरेको बाटो पहिल्याउँदै
बाबा, आमा, दिदी, दाइ र त्यसपछिको पालो सायद कुनै भवितव्य नपरेमा
सृष्टिचक्रको क्रमबद्धतामा
ठ्याक्कै मेरो नै पो हो त…..!
सम्झदा पनि मन हुरुक्क हुने ।
हजुरआमा!
तिम्रो अवसानले
तिम्रो समय अन्तरालको उत्तरले
धेरै धेरै पाठ दिएर गएको छ।
अक्षर नबुझी
संसार बुझेकी तिमी
कलमले रङ नपोती
घर, परिवार रङ्याउने तिमी
कुसंस्कार, मिथक र संस्कारको राँकोमा यथास्थितिमा बाँचेर पनि
वैचारिक सङ्घर्ष र अन्तर्द्वन्द्वमा
भुँइभरि पोखिएरै पनि
काँधमा कर्तव्यको भारी बोकेर
स्वाभिमान र आत्मविश्वास बटुलेर
जीवन कौशल भर्ने तिमी
माटोमा पूर्ण स्वतन्त्रता उमार्ने तिमी ।
हजुरआमा ,
आजभोली
तिमी र हिउँले ढाकिएको हिमाल मलाई उस्तै लाग्छ
प्रत्येक बिहानी मलाई तिम्रै प्रतिबिम्ब हेर्न आतुर लाग्छ
सम्झिन्छु कञ्चन निलो पानीको तालमा तैरिरहेको डुङ्गा र तिमी उस्तै लाग्छ
समयको अन्तरालसँगै जीवन गतिमा बहिरहेको आभाष मिल्छ ।
हजुरआमा,
हिजोभन्दा आज
र
आज भन्दा भोलि
जीवनको उत्तरार्धमा
ती कहेका र सुनेका
अझ प्रिय हुनेछन् मर्मस्पर्शी जीवनमुखी गाथाहरू !
समय अन्तरालको एउटै विन्दुमा
अनि ठ्याक्कै केही वर्षपछि
सायद भेट हुनेछौं हामी दुई पनि
जिन्दगीको सानः अन्तत पूर्ण जीवन चक्र ..।
मेरो पौरख सुनेर मुस्कराउनेछौ तिमी पनि ।
प्रतिक्रिया राख्नुहोस्