सङ्खुवासभामा एचपीभी खोप माघ २७ देखि मात्र लगाइने

खाँद बारी (सङ्खुवासभा)- हिमाली जिल्ला सङ्खुवासभामा पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप माघ २७ देखि सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यले मङ्गलवार सरोकारवालालाई भेला गराएर जिल्लाको भोट खोला गाउँपालिका भित्रका अधिकांश विद्यालय जाडोका कारण बन्द भएकाले खोप अभियान २७ माघ देखि सञ्चालन गरिने जानकारी गराएको हो। विकट र भौगोलिक अवस्थाले केही दिन खोप अभियान सार्नु परेको जिल्ला स्वास्थ्य प्रमुख नारदमुनि सुवेदीले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीलाई लगाइने भएको हो । दश स्थानीय तह रहेका यहाँ नौ हजार ३५ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोषण श्रेष्ठले रोषण श्रेष्ठले जानकारी दिनुभयो । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ४४ विद्यालय, १० स्थानीय तहका ७६ वटै वडा र १३१ स्वास्थ्य संस्था गरी दुई सय ७६ खोप केन्द्र निर्धारण गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो । यसका लागि दुई सय ७६ स्वास्थ्यकर्मी र पाँच सय ५६ स्वयंसेवक परिचालन गरिने छ ।
खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्तालाई पालिका स्तरीय तालिम पनि सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत खाँद बारी नगरपालिका दुई हजार छ सय एक, चैनपुर नगरपालिका एक हजार पाँच सय ४२, पाँचखापन नगरपालिका आठ सय ८१, धर्मदेवी नगरपालिका सात सय ७१, मादि नगरपालिका सात सय ७३, सभा पोखरी गाउँपालिका पाँच सय ६६, चिचिला गाउँपालिका तिन सय ५०, सिलिचोंग गाउँपालिका चार सय ७७, मकालु गाउँपालिका सात सय एक र भोट खोला गाउँपालिकाका तिन सय ७३ गरी नौ हजार ३५ जनालाई पाठेघरको क्यान्सर विरुद्ध दिइने एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।
खोप अभियान १० वटै स्थानीय तहमा एकै साथ सुरु हुनेछ । भ्याक्सिन बाहेक सम्पूर्ण सामाग्री स्थानीय तहमा पठाइ सकिएको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर खोप अभियान मङ्गलवारबाट सुरु भएको छ । सङ्खुवासभामा कक्षा ६ देखि १० सम्मका ७ हजार छ सय ६२ विद्यार्थी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका एक हजार तीन सय त्रिहत्तर किशोरी छन् ।
जिल्लाको २७६ खोप केन्द्र मध्ये भोट खोला गाउँपालिकाको १, २ र ३ न वडामा भने फागुन १८ देखि २० सम्म खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्