त्रिशूली अस्पतालमा पहिलो पटक दुरबीनद्वारा कानको जालीको शल्यक्रिया

नुवाकोट- नुवाकोटको त्रिशूली अस्पतालमा पहिलो पटक दुरबीनद्वारा कानको जालीको शल्यक्रिया गरिएको छ । यसबाट बिरामीहरूलाई काठमाडौँ तथा अन्यत्र जानु पर्ने समस्याको अन्त्य भएको छ ।
६ दशक पुरानो त्रिशूली अस्पतालमा आधुनिक भवन तथा उपकरण भित्रिएसगै विरामीहरुले सहज रूपमा उपचार पाइरहेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले जटिल प्रकृतिको शल्यक्रियासमेत सुरु गरिसकेको छ ।
उपकरण र चिकित्सकको सहजतासंगै त्रिशूली अस्पतालमै नाक, कान, घाँटी सम्बन्धी शल्यक्रिया सुरु गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीको भनाई छ । उहाँका अनुसार विरामीहरुले त्रिशूलीमै शल्यक्रियासहितको उपचार सेवा पाएपछि काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्य भएको र यसले समय र रकम कोसमेत बचत भएको छ ।
दूरबिनबाट गरिएको शल्यक्रिया सेवामा ६० जना भन्दा बढीले बहिरङ्ग सेवा र १७ जनाले कानको (कानको सुनाई परीक्षण) पिटिए सेवा लिएको अस्पतालले जनाएको छ । दूर बिनबाट शल्यक्रिया गरिने कार्य निरन्तर भइरहेको छ ।
त्रिशूली अस्पतालमा दूरबिन विद्यिबाट शल्यक्रिया तथा स्वास्थ्य सेवा सञ्चालन गरिएपछि बिरामीहरू निकै खुसी भएका छन् । त्रिशूली अस्पतालले आफ्नो स्वास्थ्य सेवा विस्तार गर्दै आधुनिक प्रविधिको प्रयोगद्वारा शल्यक्रिया र परीक्षण सेवा सञ्चालन गरेको हो ।
अस्पतालमा निर्देशक डा. राजेन्द्र लामा, सौरभ सुमन यादव र पार्वती गौतमको नेतृत्वमा ल्याप्रोस्कोपिक सर्जरी (दूरबिन विधिद्वारा पित्त थैलीको अप्रेसन), इन्डोस्कोपी सेवा र पिसाब नली तथा थैलीको परीक्षणसमेत भइरहेको छ । बिरामीको पिसाब थैलीको परीक्षण गर्दा पिसाब थैलीमा मासु पलाउने रोगको प्रारम्भिक निदान र उपचार गरिएको छ ।
उक्त रोग सम्भावित रूपमा क्यान्सरको प्रारम्भिक चरण हुन सक्ने भएकाले थप परीक्षण र उपचार प्रक्रियाका लागि तयारी गरिएको अस्पतालले बताएको छ । अस्पतालको उक्त कार्यले नुवाकोट, रसुवा र धादिङका जनतालाई आधुनिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनुका साथै जटिल रोगको समयमै पहिचान र उपचार गर्न सघाउ पुग्ने अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्