गाउँ पालिकाले पठायो ज्येष्ठ नागरिकलाई भ्रमण अवलोकनमा 

रुकुम पश्चिम – रुकुम पश्चिमको सानी भेरी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई पर्यटकीय क्षेत्रको भ्रमण अवलोकनमा पठाएको छ । पालिकाले विनियोजन गरेको वार्षिक बजेट तथा कार्यपालिकाको निर्णय अनुसार पालिका भित्रका ज्येष्ठ नागरिकलाई देशका विभिन्न क्षेत्रमा भ्रमण अवलोकनमा पठाएको हो ।

गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्टका अनुसार पालिकाले यस वर्ष देखि सुरु गरेको यो अभियान आज देखि थालनी गरिएको छ । यस वर्षको पहिलो भ्रमण अभियानमा ११ वटै वडाबाट प्रतिनिधित्व हुने गरी ४० जना ज्येष्ठ नागरिकलाई एकसाथ भ्रमण अवलोकनमा पठाइएको छ ।

‘ज्येष्ठ नागरिकले भ्रमण अवलोकनबाट बाहिरी दुनियाँलाई बुझ्ने अवसर प्राप्तिका रूपमा लिनेछन्, यो भ्रमणले बुढेसकालको मानसिक तनावलाई हटाउन सघाउ पुर्‍याउने छ, अध्यक्ष विष्टले भन्नुभयो ।’

यस वर्ष पालिकाले सुरु गरेको भ्रमण अभियानमा ज्येष्ठ नागरिकले देखाएको इच्छा अनुसार नै भ्रमण अवलोकनमा सहभागी गराएर पठाइएको गाउँपालिकाले बताएको छ ।

पालिकाबाट भ्रमण अवलोकनमा जाने ज्येष्ठ नागरिकलाई मुस्ताङको मुक्तिनाथ, पोखरा, बागलुङ लगायत पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलको अवलोकन गराइने भएको छ ।

गाउँपालिकाले सुरु गरेको यो अभियानले भ्रमण अवलोकनमा जाने ज्येष्ठ नागरिकमा उत्साह छाएको छ । यस भ्रमण अवलोकन अभियान अब देखि हरेक वर्ष निरन्तर चल्ने बताइएको छ ।

यहाँको सानी भेरी गाउँ पालिकाले यसै वर्ष पालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र जनप्रतिनिधिलाई समेटेर नमुना विद्यालयको शैक्षिक भ्रमणमा सहभागी गराइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.