भोजपुरबाट गोरखामा गएर नेपाली हाते कागज उद्योग चलाइरहेका पासाङ निमा

गोरखा- झण्डै १५ वर्षभन्दा बढी अरुको उद्योगमा काम गर्नुभएका भोजपुरको सिलिङचोभाका पासाङ निमा शेर्पाले गोरखामा आएर नेपाली हाते कागज उद्योग सञ्चालन गर्नुभएको २२ वर्षभन्दा बढी भइसक्यो ।
चौँरी पाल्न दुःख भएपछि गाउँ छोडेर तीन दशकभन्दा अघि जागिरको खोजीमा निस्कनुभएका उहाँले सुरुमा कागज उद्योगमा काम पाउनुभयो ।
आधा दर्जनभन्दा नेपाली हाते कागज उद्योगमा शेर्पाले काम गरेको अनुभव छ । कामको सिलसिलामा कहिले ताप्लेजुङ्ग, कहिले बाजुरा त कहिले काठमाडौँमा पुग्नुभएका शेर्पा कामकै खोजीमा गोरखा पनि आइपुग्नुभयो ।
६ वर्ष जति गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफन्तले चलाएको उद्योगमा आएर काम गरेका उहाँलाई आफ्नै उद्योगमा काम भ्याइनभ्याइ छ ।
करिब ५ लाख रुपैँया ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गर्नुभयो ।
उद्योगबाट मनग्य आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । ‘‘अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोबार हुन्छ, उहाँले भन्नुभयो, ‘‘नियमित रुपमा पाँच जनालाई रोजगारी पनि दिएको छु, सिजनमा कच्चा पदार्थ (लोक्ता) काढ्ने त थुप्रै हुन्छन् ।’’
चैत-बैशाखको सिजनमा सयजना जतिले लोक्ता काढ्नकै लागि रोजगारी पाउने गरेको उहाँ बताउनुहुन्छ । ‘‘पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजदुरले उद्योगमा ल्याउँछन्, पासाङले भन्नुभयो, ‘‘उनीहरूले पनि प्रतिकिलो १५० रुपैयाँ भन्दाबढी बुझेर फर्कन्छन् ।’’
गोरखा नगरपालिका-६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गर्नुभएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारको माग धान्न गाह्रो छ ।
‘‘धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले नै पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु ।’’ पासाङले भन्नुभयो ।
जग्गामा भाडामा लिएर उहाँले उद्योग चलाउँदै आउनुभएको हो । थोरै लगानी गरेर पनि मनग्य आम्दानी हुने गरेकाले आफ्नो पेशाबाट पासाङ खुशी हुनुहुन्छ । पासङको उद्योगमा वार्षिक झण्डै १० देखि २० ‘टन’ कागज उत्पादन हुने गर्दछ । उत्पादित नेपाली हाते कागज ४ किलोको रु ३ हजार ५ सयसम्ममा बिक्री हुन्छ ।
‘‘बजारको माग अनुसार पुर्याउन अझै सकेको छैन, पासाङले भन्नुभयो, ‘‘कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो ।’’
पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्म नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उहाँले दुईवटा छोरीलाई विदेश पढाइसक्नु भएको छ ।
‘‘पहिले ऋण लिएर काम थालेको भएपनि अहिले ऋण गर्नुपरेको छैन, उहाँले भन्नुभयो, ‘‘साँवा व्याज सवै तिरेर अहिले सवै आफ्नै लगानीमा उद्योग चलाउन पाउँदा साह्रै खुशी लाग्दो रहेछ ।’’
प्रतिक्रिया राख्नुहोस्