प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्धारा शपथग्रहण

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिनुभएको छ । उहाँलाई उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आज उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सपथग्रहण गराउनुभएको हो ।

शाक्य नेपाल सरकार, मन्त्रीपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो ।

शपथग्रहण कार्यक्रममा उर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने वक्यौता मन्त्रीपरिषद्को निर्णयलाई समेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवम् ग्राहकहरुलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिनुभयो । मन्त्री खड्काले उर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन समेत दिनुभयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिनुभयो । नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मन, वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दक्षिण एशियाकै उत्कृष्ट इन्जीनियरका अवार्ड समेत पाउनुभएका शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक हुनुभएको थियो । विस २०७८ साउन २५ मा तत्कालिन कार्यकारी निर्देशक शाक्यलाई हटाएर सरकारले दोस्रो कार्यकालका लागि कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.