भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु 

रुपन्देही-  आगामी हप्तादेखि हङकङमा हुने चार देशीय टी–२० सिरिजका लागि भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधवारदेखि बन्द प्रशिक्षण सुरु भएको हो ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) छनोटमा परेका २० जना खेलाडीहरू बन्द प्रशिक्षणमा सहभागी छन् । हङकङमा हुने चार देशीय सिरिजपछि नेपाली टिम आगामी जुनमा स्कटल्यान्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, साहब आलम र विवेक यादव छन् ।

बन्द प्रशिक्षणमा आएका खेलाडीहरूलाई रुपन्देही क्रिकेट सङ्घले स्वागतसहित आगामी सिरिजका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । सङ्घका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरूले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नेपालको क्रिकेटले पछिल्लो समय गरेको प्रगति गर्व गर्न लायक रहेको जनाउनु भयो । उहाँले राष्ट्रभक्ति र राष्ट्रियतालाई आत्मसाथ गरेर क्रिकेट खेल्न आग्रह गर्नुभयो ।

प्रशिक्षक ज्ञानेन्द्र मल्लले हङकङमा हुने सिरिज यस पटक नेपाल ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले टिम एकजुट भएर सबै नेपाललाई एकै ठाउँमा बाँधी खुसी तुल्याउने गरी खेलाडीहरूले खेल प्रदर्शन गर्ने विश्वास जनाउनुभयो ।

राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिमले एकजुट भएर राम्रो प्रदर्शन गरी सिरिज जित्ने लक्ष्य राखेको बताउनु भयो । उहाँले भर्खरै प्रधानमन्त्री कप सम्पन्न भएकाले त्यसबाट धेरै खेलाडीहरूको अभ्यास समेत भएकाले जति सक्दो राम्रो गर्ने आफूहरूको लक्ष्य रहेको जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.