गोरखामा २२औँ सवा लाख रोट महोत्सव हुँदै

गोरखा- गोरखा दरवार परिसरमा रहेको गोरखानाथ मन्दिरमा २२औँ सवा लाख रोट महोत्सवको आयोजना गरिएको छ । महोत्सवको आयोजना सिद्वाश्रम शक्ति केन्द्र नेपालले आयोजना गरेको हो ।
महोत्सवका बारेमा जानकारी दिने उद्वेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रका संयोजक रामजी अर्यालले महोत्सव बैशाख २९ गतेबाट सुरु भएर जेठ ८ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।
यो बर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढीले सहभागिता जनाउने छन ।
यो पटकको महोत्सव फरक खालले मनाउने तयारी भएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
मानव कल्याण र विश्व शान्तिको कामना गर्दै बिक्रम सम्बत २०६१ सालदेखि नै केन्द्रले गोरखनाथ मन्दिरमा सवालाख रोट अर्पण गर्दै आएको छ ।
विगतदेखि नै गोरखनाथ जयन्तीको अवसर पारेर आयोजना गरिएको महोत्सवमा देशैभरबाट श्रद्वालु भक्तजनहरु आउँछन ।
यो पटक पनि नेपालको धेरै जिल्लाका साथै भारत र अन्य देशका गुरु गोरखनाथका भक्तजनहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।
महोत्सवको पहिलो दिन गोरखा बजारमा रहेको सिद्वाश्रम शक्ति केन्द्रबाट निकालिने शोभायात्रा गोरखानाथ मन्दिरमा पुगेर समापन गरिने भएको छ ।
  यस पटकको रोट महोत्सवलाई गोरखा नगरपालिकाले मनाउँदै आएको ‘गोरखा पर्यटन बर्ष’ को क्यालेन्डरमा समेत समावेश गरिएको छ ।
रोट महोत्सवभरी दैनिक स्तुति बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन-किर्तन र प्रसाद बितरण हुने सिद्वाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।
रोट के हो ?
चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार हो- रोट ।
चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाइन्छ ।
रोट २ प्रकारको हुन्छ । भुङ्ग्रे र ताई रोट ।
गोलाकार आकृतिको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाइनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखि ठुला आकारमा पनि तयार गरिन्छ ।
दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाइन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृति अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ ।
यसको बीच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ ।
यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनि बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।
नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृति दिँदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ ।
गुरु गोरखानाथलाई रोट चढाउदा पनि विशेष रोट पूजा गरी मन्त्रसहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ ।
स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.